सुर्खेत । कर्णाली प्रदेशका बालबालिकाहरुले बालक्षेत्रमा लगानी गर्न र बालमैत्री कानुनलाई कार्यान्वयन गर्नुपर्ने भन्दै प्रदेश सभा सांसदहरुलाई ज्ञापन पत्र बुझाएका छन् । वीरेन्द्रनगरमा प्रादेशिक बालसहभागिता कार्यशालाको आयोजना गरेर बालबालिका क्षेत्रका समग्र समस्यासहितको मागपत्र उनीहरुले सांसदहरुलाई बुझाएका हुन् ।
कार्यशालामा बालबालिकाहरुले समग्र कर्णाली प्रदेशका बालबालिकाहरुले झेल्नु परेका समस्याहरु छलफलबाट उठान गरेका थिए । कर्णालीका पाँच जिल्लाबाट सहभागी भएका बालबालिकाहरुले बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागीता सम्बन्धमा विभिन्न मागहरु अघि सारेका छन् ।
बालबालिकाहरुले प्रदेशका दुर्गम जिल्लाका स्थानीय तहहरुमा सुत्केरी महिला तथा बालबालिकाको लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, कुपोषित भएर जन्मिने बालबालिकाहरुका लागि पोषकयुक्त खानेकुरा प्रदान गर्नुपर्ने, बालबालिकाकै लागि विशेष स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्ने र प्रदेश राजधानीमा बाल अस्पताल सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ ।
यस्तै, उनीहरुले कतिपय जिल्लाहरुमा सामुदायिक शिक्षाको अवस्था खस्कोदो अवस्थामा रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने माग पत्रमा उल्लेख गरेका छन् । बालबालिकाको हक अधिकारका लागि आफूहरु कटिवद्ध रहेको सरकारले बताएपनि अप्रयाप्त खेलकुद संरचना, बालबालिकाको बजेटको दुरुपयोग जस्ता समस्या रहेकाले त्यसको निराकरण गर्न बालबालिकाहरुको माग छ ।
विद्यालय छाडेका बालबालिकाहरुलाई आयमुलक र सीपमुलक शिक्षाको व्यवस्था, छाउपडी भएमा गोठमा सुत्न पठाउनेलाई कानुनअनुसार दण्ड सजायको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु बालबालिकाहरुले अघि सारेका छन् ।
बालबालिकाहरुको ज्ञापन पत्र बुझ्दै प्रदेश सांसदहरु पद्मा खड्का, ठम्मर विष्ट र सुशील थापाले बालबालिकाहरुका सवालमा आफूहरु गम्भीर रहेको बताएका छन् । उनीहरुले भविष्यका देश हाक्ने खम्बालाई अहिले नै संरक्षण गर्न सरोकारवाला निकायहरुमा खवरदारी रहेको उल्लेख गरे ।
भौगोलिक रुपमा विकट कर्णालीका बालबालिकाहरुले आगामी दिनमा अभाव र दबावमा बाच्न नपर्ने वातावरण मिलाउन संसदमा कुरा राख्ने सांसदहरुले सामुहिक प्रतिवद्धता समेत जनाएका छन् । बालबालिकाको क्षेत्रमा भइरहेको लगानीका विषयमा आफूहरुले निगरानी बढाउने र बजेट विनियोजन दर बढाउने सांसदहरुको भनाई थियो ।
कार्यशालामा कन्र्सोटियम नेपाल कर्णालीका अध्यक्ष टिकाराम आचार्य, बालअधिकारकर्मी युवराज खतिवडा, टिडिएच जर्मनका कार्यक्रम संयोजक अमित देवकोटा लगायतको उपस्थिति थियो ।
एकदिने कार्यशालामा सुर्खेत, दैलेख, कालिकोट,जाजरकोट र सल्यान जिल्लाका बालबालिकाहरुको सहभागिता रहेको थियो । प्रादेशीक बाल सहभागिता कार्यशाला टिडिएच जर्मनीको आर्थिक सहयोगमा समाज जागरण केन्द्र स्याक नेपाल, कन्र्सोटियम नेपाल र हुरुन्डेक नेपालको संयुक्त आयोजनामा गरेको हो ।