सुर्खेत । राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतमा टोकन प्रणाली लागु गरिएको छ । सेवाग्राहीको भिडले प्रभावकारी सेवा नपाएको गुनासो गर्न थालेपछि बिहिबारदेखी बैंकले टोकन प्रणाली लागु गरेको हो ।
याे पनि पढ्नुहाेस् : ‘ग्राहकलाई सहज सेवा दिन टोकन प्रणाली लागु गर्दैछौं’
सेवाग्राहीलाई सहज र सरल रुपमा सेवा दिन टोकन प्रणाली लागु गरिएको राष्ट्रिय बाणिज्य बैंक शाखा सुर्खेतका प्रवन्धक अरुण ढुंगानाले जानकारी दिए ।
टोकन प्रणाली लागु गरेसंगै अब ग्राहकहरुलाई लामो समयसम्म लाइनमा बसी राख्नु पर्ने झन्झटको भने अन्त्य भएको छ । ‘विद्युत अनियमित हुँदा पहिले नै सञ्चालनमा ल्याउन सकेका थिएनौं’ प्रवन्धक ढुंगाले भने ‘अब टोकन सिस्टम लागु भएपछि पालो अनुसार ग्राहकहरुले समयमै सेवा उपभोग गर्न पाउनुहुनेछ ।’
टोकन प्रणाली के हो ?
शुरुमा सेवाग्राहीहरुले बैंकमा पुगेपछि बैंक भित्रै राखिएको मेशिनबाट टोकन लिनुपर्छ । टोकनमा बचत गर्ने वा चेकबाट भुक्तानी लिने भन्ने नम्बर सहितको टोकन मेशीनले उपलव्ध गराउँछ ।
नम्बर अनुसार माइकबाट सेवाग्राहीहरुलाई बोलाइन्छ र उनीहरुले सेवा लिन पाउँछन् । टोकनमै कति जनापछि पालो आउछ भन्ने लेखिएको हुन्छ र नम्बर अनुसार नै सेवाग्राहीलाई कान्टर नम्बरसहित बलाउने गर्दछ ।
‘विगतमा पछि आएकाले अघि र अघि आएकाले पछि सेवा लिँदा सेवाग्राही मात्रै हैन कर्मचारीलाई समेत हैरानी हुने गरेको थियो’ प्रवन्धक ढुंगानाले थपे, ‘टोकन प्रणालीले अब बैंकमा भिड नहुने र सहज रुपमा सेवाग्राहीले सेवा उपभोग गर्न पाउछन् ।’
राष्ट्रिय बाणिज्य बैंकले व्यवसायिक, कृषि, आवास, गाडी र विपन्न वर्गका लागि कर्जा उपलब्ध गरारहेको छ । हालसम्म बैंकमा सबै प्रकारका खाता खोल्ने ग्राहकहरुको संख्या झण्डै ५० हजार पुगेको छ । यी चल्ती, बचत र मुद्धती खाता भएका ग्राहकहरु हुन् ।