☰ open Loading... 28 March 2024|  

खानेपानी संकट टार्न उपत्यकामा दमाई खोलाबाट पानी ल्याइँदै
  | ९ मंसिर २०७५, आईतवार १३:५४

सुर्खेत । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले थप नयाँ आयोजना सञ्चालन गर्ने भएको छ । वीरेन्द्रनगरमा खानेपानीको समस्या समाधानका संसथाले नयाँ आयोजना निर्माणको काम शुरु गर्ने जानकारी दिएको हो ।

संस्थाका अध्यक्ष कुलमणि देवकोटाले दिएको जानकारी अनुसार वीरेन्द्रनगर–१६ (रतु र गर्पण खोलाको बीच) मा रहेको दमाइ खोलाको पानी वीरेन्द्रनगरमा ल्याउन लागेको बताए ।

उक्त खोलाको पानी वीरेन्द्रनगरमा ल्याउनका लागि संस्थाले डिपिआर समेत तयार पारी सकेको छ । दमाइखोलाको पानी इन्ट्याङ्कसम्म खसाल्न डिपिआर अनुसार साढे चार करोड लाग्ने अनुमान गरिएको छ । आयोजना सफल भएका प्रतिसेकेन्ड १५ लिटर प्रतिसेकेण्ड पानी वीरेन्द्रनगरमा थप हुनेछ ।

दमाईखोलाको पानी वीरेन्द्रनगरमा आएमात्रै झण्डै ७ हजार पानीका धारा वितरण गर्न सकिने सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । दमाईखोलादेखि जर्बुटाको इन्ट्याङ्कमा पानी ल्याउन झण्डै साढे ६ किलोमिटर पाइपलाईन आवश्यक पर्नेछ ।

भेरी नदीको पानी सुर्खेत उपत्यकामा नआउदासम्म दमाईखोलाले केही राहत गर्ने संस्थाको अनुमान रहेको छ । ५ वर्षपछि मात्रै भेरीको पानी उपत्यकामा आउने भएका कारण त्यतिन्जेलसम्मका लागि दमाइखोलाले राहत पु¥याउने अध्यक्ष देवकोटाको भनाई छ ।

वीरेन्द्रनगरमा बढ्दै सहरीकरणसँगै पानीको अभाव हुन थालेपनि संस्थाले अहिलेनै बैकल्पिक स्रोतको खोजी गरेको हो । अहिले पनि उपत्यकामा झण्डै १ सय ७६ लिटर प्रतिसेकेन्ड पानी आवश्यक रहेको छ । तर संस्थाले १ सय ४९ लिटर प्रतिसेकेण्ड मात्रै आपूर्ति गर्दै आएको छ । उपत्यकामा अझै पनि साढे २९ लिटर प्रतिसेकेण्ड पानी आवश्यक रहेको छ ।

विगत १८ वर्षदेखि खानेपानी वितरण गर्दै आएको संस्थाले खरीखोला, बोरीखोला, इत्रामखोला, झुप्रा खोला लगायतका पानीको मुहानबाट गरी जम्मा १ सय ४९ लिटर प्रतिसेकेण्ड पानी उपत्यकामा ल्याएको छ । हालसम्म १५ हजार ९ सय ५८ वटा धाराबाट पानी वितरण गरिरहेको छ । त्यस्तै ३ हजार ८ सय ८३ वटा धाराहरु जडानको प्रक्रियामा रहेका छन् ।

५ हजार ३ सय ४२ वटा धाराहरु संस्थामा फायल दर्ता गरी अनुदान बुझाउन बाँकी रहेको संस्थाले जनाएको छ । संस्थाले भेरी नदीको पानी पपिङ्ग गर्न डिपिआर भइसकेकाले यथाशिघ्र निर्माणका लागि आफूहरु लागेको अध्यक्ष्य देवकोटाले जानकारी दिए । भेरी नदीबाट थप हुने पानी अमृत डाँडामा ल्याएपछि वितरण शुरु गरिने छ ।