सुर्खेत । नेपाल तरुण दल सुर्खेतले सरकारको वेथितीको विरोधमा ज्ञापन पत्र बुझाएको छ । नेपाल तरुण दल जिल्ला कार्यसमिति सुर्खेतले सरकारले जनताको भवनाअनुसार काम नगरेको भन्दै खवरदारी स्वरुप जिल्ला प्रशासन कार्यालय सुर्खेतमा सोमबार ज्ञापनपत्र बुझाएको हो ।
नेकपा सरकारको गठन भएदेखी देशमा भएको अराजकता, अन्याय, भ्रष्टचार, मुल्यवृद्धि एवं नेपाल वायु सेवा निगममा वाइड बडी जहाँज खरीदमा जस्ता विवादस्पद कार्यहरु गरेकाले खवरदारी स्वरुप ज्ञापनपत्र बुझाइएको तरुण दल सुर्खेत अध्यक्ष हरी विष्टले जानकारी दिए ।
उनले जहाज खरिदमा अकुत भ्रष्टाचार, राष्ट्रपतिलाई १८ करोडको गाडी खरिद गर्न बजेट विनियोजन र निर्मला पन्तको बलात्कार गरी हत्या भएको लामो समय वित्दा समेत सरकारले कारवाही गर्न नसकेको दुख व्यक्त गरे ।
‘हचुवाको भरमा सरकारले विवादस्पद निर्णय गरिरहेको छ’ विष्टले भने, ‘जनतालाई सरकार भएको आभाष दिलाउने गरी काम गर्न आग्रह गरे ।’ नेपाल तरुण दलको केन्द्रीय कार्यालयको परिपत्र अनुसार तरुण दल सुर्खेतले पनि ज्ञापन पत्र बुझाएको हो ।