☰ open Loading... 24 November 2024|  

कर्णालीकाे विकासका लागि पत्रकार साथ अावश्यक : मुख्यमन्त्री शाही
  | २० मंसिर २०७५, बिहीबार १५:२५

सुर्खेत । विकास र शिक्षामा पछाडी परेको कर्णालाई विकासको गतिमा रुपान्तरण गर्न पत्रकारको साथ आवश्यक रहेको कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् । वीरेन्द्रनगरमा नेपाल पत्रकार महासंघ सुर्खेत शाखाको २३ औं साधारणसभालाई सम्बोधन गर्दै उनले समाज गलत बाटोमा हिँडिरहेकाले सबै मिलेर समाजको बाटोलाई सही रुपमा हिँडाउन पत्रकारहरुको साथ आवश्यक रहेको बताएका हुन् ।

मुख्यमन्त्री शाहीले समाजमा अहिले सुशासन पाउन नसकिएको, समाजमा धेरै घटना हुने गरेको बताए । ‘हामी सबैभित्र राम्रो र सकारात्मक सोचको आवश्यकता रहेको छ’ उनले भने, ‘हरेक व्यक्तिले समाजमा कसरी राम्रो बन्ने, समाजमा राम्रो छाप कसरी छाड्ने, कसरी राम्रो व्यवहार देखाउने भन्नेबारे प्रतिस्पर्धा गर्न आवश्यक छ ।’

हरेकले व्यवहार र परिचयले जीवनशैली र काम गर्ने तरिका सकारात्मक राख्न जरुरी रहेको बताएका उनले थपे, ‘यो अभियानको शुरूवात गर्न जरुरी छ, तब मात्र देशको विकास हुन सक्छ । देश दुर्घटनामा पर्नबाट जोगिन सक्छ ।’ मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका १५ वर्षमुनिका बालबालिकाको मस्तिष्क ‘भर्जिन’ भएका कारण उनीहरूलाई कस्तो शिक्षा दिने भन्ने बारे सरकारले अध्ययन गरिरहेको बताए ।

१५ वर्षमुनिका बालबालिकाको मस्तिष्क कस्तो बनाउने र कस्तो शिक्षा दिँदा कर्णाली समृद्ध बनाउन सकिन्छ भन्ने अध्ययन गरेर पाठ्यक्रम बनाउने सरकारको तयारी रहेको उनले बताए ।

मुख्यमन्त्री शाहीले भने, ‘१५ वर्ष माथिका हरेक मान्छेको गलत सोचलाई अन्त्य गर्दै उनीहरूलाई जीवन के हो, दायित्व के हो बुझाउन आवश्यक छ । यसका लागि गाउँ तथा नगरपालिका स्तरमै अभियान चलाउन जरुरी छ । त्यसमा सञ्चार जगतबाट पनि सहयोगको अपेक्षा छ ।’ मुख्यमन्त्री शाहीले पत्रकार जगतमा रहेका समस्या समाधानका लागि सरकार आवश्यक सहयोग गर्न तयार रहेको बताए ।