☰ open Loading... 25 November 2024|  

चुनौतीपूर्ण कार्यकालमा सबैलाई गोलवद्ध गराउँछु : नवनियुक्त रजिष्ट्रार कार्की
  | २३ मंसिर २०७५, आईतवार १६:०८

सुशील खड्का
सुर्खेत ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयको अहित हुने काम नगर्ने प्रतिबद्धता नवनियुक्त रजिष्ट्रार यामबहादुर कार्कीले जनाएका छन् । वीरेन्द्रनगरकाे कुईनेपानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा अाइतबार पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै नवनियुक्त रजिष्ट्रार कार्कीले विश्वविद्यालयको हितका लागि सहकार्य गरेर अघि बढ्ने बताएका हुन् ।


विश्वविद्यालयमा धेरै चुनौती देखा परेको बताउँदै सबैलाई गोलवद्ध गरेर लैजाने भनाई कार्कीको छ । ‘मैले जिन्दगीमा अहिलेसम्म पाँच ओटा जागिर खाएको छु । सबैभन्दा मेरो यो कार्यकाल चुनौतीपूर्ण छ’ उनले भने, ‘तर त्यो चुनौतीलाई वार्ता, छलफल र सहकार्यका माध्यमबाट समाधान गरेर अघि बढ्नेछु ।’

रजिष्ट्रार कार्कीले विश्वविद्यालयलाई सबैको अपनत्व हुनेगरी विकास गरेर लैजाने उल्लेख गरे । ‘कुनै एक गुटको, एक खेमाको अधिनमा राखेर विश्वविद्यालय अघि बढदैन ।’ उनले भने, ‘सबै राजनीतिक दल, समाजसेवी, विद्यार्थीलाइृ आफ्नो विश्वविद्यालय, हाम्रो विश्वविद्यालयको रुपमा स्थापित गर्न मेरो अभियान हुनेछ र त्यसमा सफलता पाउनेमा आशावादी छु ।’ रजिष्ट्रार कार्कीले आफुले विश्वविद्यालयलाई शैक्षिक केन्द्रको हवका रुपमा विकास गर्न सबैसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

विश्वविद्यालयका नव नियुक्त रजिष्ट्रार कार्कीले पदभार ग्रहण गर्नुअघि विस्तारित कार्यालयमा विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला लगायतले कार्यसफलताको शुभकामना तथा बधाई दिएका थिए ।

तत्कालिन रजिष्ट्रार डा. महेन्द्रबहादुर मल्ल निलम्बनमा परेपछि विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कार्कीलाई रजिष्ट्रारमा नियुक्त गरेका थिए ।