सुर्खेत । ७० औं अन्तराष्टिय मानवअधिकार दिवशको अवसरमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा मुलुकी देवानी र फौजदारी संहिता सम्वन्धी सचेतना कार्यक्रम गरिएको छ । आयोन नेपाल, सुन्दर नेपाल, हुरेक नेपाल, स्याक, आवाज संस्था, इन्सेक, एकल महिला संजालको आयोजना र गैसस महासंघ, किडार्क, स्थानिय सरोकार समुह, मानवअधिकार एलाइन्सको समन्वयमा उक्त कार्यक्रम संचालन गरिएको हो ।
कार्यक्रममा अधिवक्ताहरु गिता कोइराला, रमा प्याकुरेलले यस वारे प्रशिक्षण दिएका थिए । कार्यक्रममा इन्सेकका कार्यक्रम संयोजक नारायण सुवेदी, आवाजका पवित्रा शाही, सुन्दर नेपालका खिम रेग्मी र आयोनका प्रदेश संयोजक चरित्रा केसी लगायतले विषयवस्तुमा आफ्ना धारणा राखेका थिए । कार्यक्रममा विभिन्न ६० जनाको सहभागीता रहेको आयोन नेपाल कर्णाली प्रदेशका संयोजक चरित्रा केसीले जानकारी दिइन् ।
पिपलचौतारीमा दिप प्रज्वलन
आजै वीरेन्द्रनगर सुर्खेतमा प्रदेश सरकार र विभिन्न गैर सरकारी संस्थाहरुको संयुक्त आयोजनामा दिप प्रज्वलन गरिएको छ । प्रदेश सरकारका भुमिसुधार तथा कृषि मन्त्री विमला केसी, सांसद सिता नेपाली, वीरेन्द्रनगर नगरपालीकाका उप मेयर मोहनमाया ढकाल लगायत विभिन्न संस्थाहरुको प्रतिनिधीहरुले दिप प्रज्वालनमा सहभागी भएका थिए । कार्यक्रममा बोल्दै मन्त्री केसीले मानवअधिकार तव मात्र हुन्छ जव सवैले समानता र न्याय पाउँदछन् । यसमा प्रदेश सरकार सचेत रहेको उनले बताईन् ।