ADV…
सुर्खेत २७ मंसिर ।
कर्णाली प्रदेश सरकारले ल्याएको डिजिटल कर्णाली प्रदेशको नारा प्रदेश प्रहरीले पनि अबलम्बन गर्न थालेको छ । नयाँ प्रविधिको भरपुर प्रयोग गर्ने र त्यसबाट प्रदेशको समग्र सुरक्षा अवस्थाबारे जानकारी लिन र निर्देशन दिन प्रदेश प्रहरीले बिहीवार वीरेन्द्रनगरमा ‘भिडियो कन्फरेन्स’ गरेको हो ।
प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहले हरेक महिनाको २ पटक प्रदेशभरका जिल्ला प्रहरी कार्यालय, अन्य प्रहरी सम्वद्ध कार्यालयसँग ‘भिडियो कन्फरेन्स गरेर जानकारी लिने र निर्देशन दिने बताए । ‘कर्णाली प्रदेशको भूगोल ठूलो छ र जनशक्ति अभाव छ,’ प्रदेश प्रहरीले आयोजना गरेको सम्मेलनलाई सम्बोधन गर्दै उनले भने, ‘त्यसैले भौगोलिक कठिनाइलाई प्रविधिको माध्यमबाट चिर्न र समयमै सुरक्षा व्यवस्थाबारे जानकारी लिन सहज हुने अपेक्षा सहित प्रविधि अपनाएका हौं ।’
ADV…
प्रदेश प्रहरी कार्यालयका अनुसार कर्णाली प्रदेशभर ५ हजार ७ सय ९ प्रहरी दरबन्दी भएपनि अझै १ हजार ५ सय दरबन्दी रिक्त रहेको छ । हाल प्रदेशभर ४ हजार ४ सय ३२ जनाले सुरक्षा व्यवस्था दिइरहेका छन् ।
कर्णाली प्रदेशमा प्रतिप्रहरीले २ सय ६४ जना नागरिकलाई सेवा प्रवाह गर्नुपर्ने अवस्था छ । डीआइजी शाहका अनुसार प्रतिप्रहरीले ४ दशमलव ७५ वर्ग्किलोमिटर क्षेत्रफल हेर्नुपर्ने बाध्यता रहेको छ । न्यून जनशक्तिका कारण सुरक्षा व्यवस्थामा चुनौती थपिएको बताउँदै डीआईजी शाहले प्रदेशभर २ सय १५ वटा प्रहरी इकाई रहेको जानकारी दिए ।
उनका अनुसार कर्णाली प्रदेशमा महिला हिंसा, जबर्जस्तीकरणी, हत्याजस्ता अपराध निरन्तर बढ्दै गएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७२र०७३ मा १ हजार १७ अपराध भएको, आर्थिक वर्ष २०७३र७४ मा १ हजार ४७, आर्थिक वर्ष २०७४र७५ मा १ हजार २ सय ४८ वटा अपराध कर्णालीमा भएका छन् ।