सुर्खेत । राउटे समुदायको पहिचान मेटिने खालका गतिविधिहरु रोक्नुपर्ने दैलेख गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बताएका छन् । बुधबार सुकुमा फाउन्डेसन नेपालको आयोजनामा राउटे समुदायका व्यक्तीहरुलाई तातो कपडा र सिरक वितरण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।
उनले राउटेलाई सहयोग गर्ने नाममा उनिहरुको संस्कृती नै मेटाउने क्रियाकलाप संचालन गरिएको भन्दै यसलाई रोक्न आवश्यक रहेको बताए । राउटे समुदायका व्यक्तीहरुलाई परिवर्तनका नाममा कोट पाइन्ट दिएर गलत गरिएको भन्दै त्यसले उनिहरुको पहिचानमा खलल् पुग्ने काम भएको उनकाे भनाइ छ ।
‘राउटे नेपालको लोपउन्मुख समुदाय हो, यो समुदायको आफ्नै रहनसहन र भेषभुषा छ, तर केहि संस्था र व्यक्तीहरुले कोट पाइन्ट लगाइदिन्छन्, यसो गर्दा राउटे भन्ने नै हराउन सक्छ ।’ उनले थपे, यस्ता कार्य रोकिनुपर्छ उनिहरुको पहिचान संरक्षण गर्नुपर्छ, राउटे जाती पर्यटनको आकर्षण बनाउन लाग्नुपर्छ ।’
राउटेका नाममा कमाई खाने भाडो मात्र बनाउन खोजिएको भन्दै सहयोग गर्ने जो कोहीलाई पनि एकद्वार प्रर्णालीबाट जानुपर्नेमा जोडदिए । गुराँस गाउँपालिकाले उनिहरुलाई स्थायी परिचयपत्र समेत उपलब्ध बनाइसकेको भन्दै उहाले अहिले राउटे समुदाय गुराँस गाउँपालिकाको नागरिक भएको बताए ।
राउटेलाई सहयोग गर्ने जो कोहीले पनि गुराँस गाउँपालिकासँग समन्वय गरेर एकद्वार प्रर्णालीबाट जानुपर्नेमा जोडदिए । अहिले राउटे समुदायको लागि दिइने भत्ता गुराँस गाउँपालिकाबाट नै दिने गरिएको बताउदै उहाले अब उनिहरुलाई नागरिकता दिने पहल भइरहेको ओलीले बताए ।
कार्यक्रममा बोल्दै सुकुमा फाउन्डेसन काठमाडौँका अध्यक्ष सुकुमाया तामाङ्गले राउटेको पहिचान जोगाउदै पर्यटन विकासमा यो समुदायलाई जोड्नुपर्नेमा जोड दिइन् । उनले राउटेको छुट्टै पहिचान देखेर देश विदेशबाट पर्यटकहरुको आगमन हुने भन्दै राउटे समुदायको संरक्षण सरकारी तवरबाट नै हुनुपर्नेमा बताइन् ।
‘अहिले डलरको खेती गर्ने केहि संस्थाहरुले राउटेको नाममा रकम ल्याएर दुरुपयोग सँगै राउटे संस्कृतीमा प्रहार गरिरहेका छन्, यसमा सरकारले नै विशेष पहल लिनुपर्छ’ उनले भनिन् । चिसो समयमा राउटे समुदायका बालबालिकाको स्वास्थ्यमा ध्यान राख्दै आफुहरुले विदेशमा गएका साथीहरुबाट रकम संकलन गरि सहयोग गरेको तामाङ्गले जानकारी दिइन् ।
फाउन्डेसनले राउटे समुदायका बालबालिकालाई ५० थान तातो कपडा र ४२ थान सिरक वितरण गरेको हो । फिरन्ते रुपमा आफ्नो जीवन विताउदै आएका लोपउन्मुख राउटे समुदाय अहिले सुर्खेत लेखवेसी नगरपालिकाको राते खोलामा बस्दै आएका छन् ।
यसअघि उनिहरु दैलेख गुराँस गाउँपालिका वडा नम्बर ८ झ्याजेमा बस्दै आएका थिए । उनिहरुको संख्या घट्दो क्रममा रहेको छ । अहिले राउटे समुदायको सँख्या १ सय ४५ मात्र रहेको छ ।