सुर्खेत । २१ औं भुकम्प सुरक्षा दिवसको अवसरमा वीरेन्द्रनगरको खुल्ला मञ्चमा कम्पन मञ्च प्रदर्शन गरिएको छ । प्रदर्शन मञ्चबाट कुन घर भूकम्पको जोखिममा हुन्छ, कुन घर हुँदैन र अबका संरचना कस्ता बनाउने भन्ने सन्देश दिन कम्पन मञ्च प्रदशन गरिएको हो ।
मञ्च प्रदर्शनबाट घरको लम्बाई, चौडाइ तथा अन्य क्षेत्रहरु कति राखेर घर बनाउने भन्ने समेत जानकारी दिइएको थियो । भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट)ले आयोजना गरेको उक्त कम्पन मञ्च पदर्शनमा घर नम्बर १ मा माटोको घर र २ मा बिच बिचमा सिमेन्ट सहितको घर निमार्ण गरि प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा भूकम्प प्रविधि राष्ट्रिय समाज (एनसेट)का इन्जिनियर सागर आचार्यले कुनै पनि भवन निमार्ण गर्दा एकछिनको सजिलो मात्र नहेरेर दिर्घकालिन सोचका साथ अघि बढ्नुपर्ने बताए । इन्जिनियर रामकृष्ण आचार्यले भूकपम्म सम्बन्धी जनचेतना मुलक एक प्रिजेन्टेशन प्रस्तुत गर्दै अब बन्ने भवनहरु आयताकार अथवा वर्गकार हुनुपर्ने जानकारी दिए ।
कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगरमा ६८ प्रतिशत घर भूकम्प प्रतिरोधात्मक तरिकाले निमार्ण भएकाले यसलाई अझ बढाउन नगरपालिका कडा रुपमा लागेको बताए ।
उनले आफू बस्न घर भुकम्परहित बनाउन सबैलाई साथ दिन आग्रह गरे । भूकम्पको बारेमा दिर्घकालिन सोचका साथ अब गाउँगाउँमा विभिन्न कार्यक्रमहरुमार्फत बसैमा जनचेतना फैलाउनुपर्ने उनको भनाई थियो ।
भूकम्प प्रविधि राष्ट्रिय समाज–नेपाल (एनसेट), वीरेन्द्रनगर नगरपालिका तथा जिल्ला समन्वय समितिले संयुक्तरुपमा आयोजना गरिएको कार्यक्रममा जिसस प्रमुख छबिलाल सिग्देल, प्रमुख जिल्ला अघिकारी वीरेन्द्र यादव, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख मोहनमाया ढकाल, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानियको समेत सहभागिता थियो ।