☰ open Loading... 26 April 2024|  

प्रेस यूनियन सुर्खेतको अबैधानिक अधिवेशन
  | १० माघ २०७५, बिहीबार ०९:५५

 सुर्खेत । केन्द्रीय समितिको निर्देशन विपरित अबैधानिक रुपमा भएको नेपाल प्रेस यूनियन सुर्खेतको अधिवेशन क्रियाशिल पत्रकारहरुले बहिस्कार गरेका छन् । नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्देशन उलंघन गर्दै अधिवेशन गरिएको भन्दै क्रियाशिल पत्रकारहरुले अधिवेशन बहिस्कार गरेका हुन् ।


केन्द्रीय अध्यक्ष बद्री सिग्देलले बुधबार तय गरिएको प्रेस युनियन सुर्खेतको अधिवेशन अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको मंगलबार विज्ञप्ति जारी गरेका थिए । केन्द्रीय समितिको निर्देशनको उलंघन गर्दै एक समूहले बुधबार अधिवेशन सम्पन्न भएको जनाएको हो ।
केन्द्रीय समितिको निर्देशन अनुसार अधिकांस क्रियाशिल पत्रकारहरुको उपस्थितिविनै अधिवेशन भएको हो । विधान अनुसार अधिवेशन सम्पन्न गर्नका लागि केन्द्रीय अध्यक्षले प्रतिनिधि र सदस्यता टुंगो लगाउनुपर्छ । तर, केन्द्रीय प्रतिनिधि र सदस्य संख्याको टुंगो नलाग्दै सुर्खेत शाखाको एक समूहले अधिवेशन आव्हान गरेको हो ।
अधिवेशनका लागि एक साता अगाडीनै सदस्यहरुलाई सूचना दिनुपर्ने हुन्छ । अध्यक्ष नरेशसिंह थापाको समूहले अधिवेशनको एक घण्टा अघाडी आफू निकटका प्रेस यूनियनका सदस्यहरुलाई फोन गरेर बोलाएका थिए ।
अधिवेशनका लागि सदस्यको टुंगो, अधिवेशनको मिति र अतिथिहरुका विषयमा कार्यसमितिमा पनि छलफल नगरेर अध्यक्ष थापाले एकलौटी निर्णय गरेका हुन् । ‘जिल्ला अधिवेशनका विषयमा कार्यसमितिमा पनि कुनै छलफल भएन्’ कार्यसमिति सदस्य माया थापाले भनिन्, ‘एकै पटक अधिवेशन सुरु भएको मात्रै बाहिरबाट जानकारी पाएँ ।’
केन्द्रीय अध्यक्ष सिग्देलले अर्को सूचना जारी नभएसम्मका लागि अधिवेशन नगर्न र नगराउन निर्देशन दिएक थिए । उनले केन्द्रीय समितिको निर्देशन उलंघन गरेर गरिएको अधिवेशनलाई मान्यता नदिने बताइसकेका छन् । ‘अर्को सूचना जारी नभएसम्मका लागि सुर्खेतको अधिवेशन नगर्न यसअघिनै निर्देशन भइसकेको छ’ अध्यक्ष सिग्देलले भने, ‘केन्द्रीय समितिको निर्देशनको उलंघन गरेर गरिएको अधिवेशनले मान्यता पाउँदैन् ।’
प्रेस युनियन सुर्खेतमा सदस्यता विवाद कायम छ । क्रियाशिल सदस्यहरुलाई नवीकरण गर्न नदिएको र पार्टीका कार्यकारी पदमा रहेका व्यक्तिलाई सदस्य कायम राखिएको भन्दै केन्द्रीय समितिमा उजुरी परेको छ । ‘क्रियाशिल पत्रकारहरुलाई सदस्यता नदिइएको, शुद्धिकरणको नाममा क्रियाशिल पत्रकारहरुको सदस्यता नवीकरण नगरिएको, आफू निकटका र पार्टीको कार्यकारी पदमा रहेका व्यक्तिहरुको सदस्यता नवीकरण गरिएकोलगायतका विषयमा केन्द्रीय समितिमा उजुरी परेको छ’ यूनियनका एक सदस्यले भने, ‘यि विषयहरुमा छानविन नहुँदै गरिएको अधिवेशनको अर्थ छैन् ।’ नेपाली कांग्रेस निकट क्रियाशिल पत्रकारहरुको संगठनमा पार्टीका अध्यक्ष कमलराज रेग्मीलगायत कार्यकारी पदमा रहेका व्यक्तिहरु सदस्य छन् ।