☰ open Loading... 20 April 2024|  

स्याकले जनतालाई जागरुक गराएको छ : उप-प्रमुख छन्तेल
  | ११ माघ २०७५, शुक्रबार १८:०३

लेकबेशी (सुर्खेत) । सुर्खेतका सर्वसाधारणहरुको विकासका लागी समाज जागरण केन्द्र (स्याक) नेपालले अतुलनिय योगदान गरेको भन्दै लेकवेशी नगरपालिका उप–प्रमुख शान्ति छन्तेलले प्रशंसा गरेकी छन् । लेकवेशीकाे कल्याणमा स्याकले आयोजना गरेको वार्षिक सामाजिक परीक्षण कार्यक्रमलाई सम्बोन्धन गर्दै छन्तेलले ग्रामिण बस्तीका जनतालाई जागरुक गराउन उल्लेख्य काम गरेकोमा प्रशंसा गरेकी हुन् ।


सामाजिक विकास र सुशासनका लागी केन्द्रित कार्यले मलाई मात्रै नभई जनतलाई जागरुक गराइरहेको उप–प्रमुख छन्तेलको भनाई थियो । उनले आफ्नो क्षमता विकासका लागि पनि स्याक नेपालले विगतमा धेरै ठूलो योगदान गरेको उल्लेख गरिन् ।

स्याक नेपालद्वारा सञ्चालित कार्यक्रमलाई एकद्वार प्रणालीबाट अघि बढाउन नगरपालिकाले पनि नीति बनाएर प्रभावकारी बनाउने उनले जानकारी दिइन् ।

किशोरी संवाद केन्द्र, आशा सञ्जाल, स्थानिय जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयम् सेविका, महिला समूहलगायतका प्रतिनिधिहरुले स्याक नेपालले गरिरहेका गतिविधि अझै बढाउन सुझाएका थिए ।

स्याक नेपालकी अध्यक्ष मीना तिवारी शर्माले सुर्खेतमा पहिलो पटक वि.सं. २०६४ सालदेखि नै आफूहरुले संस्थाका क्रियाकलापहरुको सामाजिक परिक्षण गर्ने संस्कार बसालेको जानकारी दिइन् । उनले यस्तो कार्यले संस्थाका कामहरु गर्न निकै सजिलो हुने गरेको बताइन् । सामाजिक परिक्षणमा स्याक नेपालका निमित्त कार्यकारी निर्देशक रेशम चन्दले संस्थाले गरेका क्रियाकलापबारे प्रस्तुती र सवाल जवाफ गरेका थिए ।

सुर्खेत, बाँके, जाजरकोट र दैलेख कार्यक्षेत्र रहेको स्याकले शिक्षा, स्वास्थ्य, आयआर्जन एवं जीविकोपार्जन, संस्थागत विकास, मानव अधिकार एवं शान्ति प्रवद्र्धन र विपद व्यवस्थापन एवं जलवायु परिवर्तनमा काम गर्दै आएको चन्दले जानकारी दिए ।

उनका अनुसार स्याकले चालु आर्थिक वर्षको ३ करोड १२ लाख ९१ हजार ४१० रुपैयाँमा मध्य हालसम्म २ करोड २३ लाख ७२ हजार ९८५ रुपैयाँ खर्चेको छ । हालसम्म ४२ हजार ५७२ महिला, तीनहजार ६२५ पुरुष, १२ हजार ९४१ जनजाती, १२ हजार ६३७ दलित र २० हजार ६४१ अन्य वर्ग लाभान्वित भएको चन्दको भनाई छ ।