☰ open Loading... 19 April 2024|  

गुराँस गाउपालिकाकाे केन्द्र रानीमत्ता कायम
  | १२ माघ २०७५, शनिबार १९:१०

दैलेख । गुराँस गाउँपालिका केन्द्र कहाँ राख्ने भन्ने लामो रस्साकस्सीपछि दैलेख गुराँस गाउँपालिकाको स्थायी केन्द्रको टुङ्गो लागेको छ । चौँथो गाउँसभा तथा हिउदे अधिवेशनले गाउँपालिकाको स्थायी केन्द्रको टुङ्गो लगाएको हो ।


गाउँसभाले केन्द्रमा सहमती जुटाउन नसकेपछि निर्वाचन प्रक्रियाबाट केन्द्रको टुङ्गो लगाइएको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिए । गाउँपालिका केन्द्र रानिमत्ता कि रतिखोला ? भनी दुइवटा ठाउँको विकल्पमा निर्वाचन गरिएको थियो ।

गाउँसभामा कायम ४४ जना सदस्यमध्य ३३ जना (दुइ तिहाई) भन्दा धेरै सदस्यले वडा नम्बर ५ रानिमत्ताको लागि मतदान गरेका थिए भने १० जनाले वडा नम्बर ४ रतिखोलाको लागि मतदान गरेको र बाँकी एकजनाको भोट रद्द भएको निर्वाचन अधिकृत ललित कुमार थापाले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाको केन्द्र रानिमत्ता हुनुपर्छ भन्ने पक्षमा दुइतिहाईभन्दा धेरै भोट खसेकाले अब गुराँस गाउँपालिकाको स्थायी केन्द्र वडा नम्बर ५ रानिमत्ता कायम भएको घोषणा गरिएको छ ।

यसअघि गाउँपालिकाको अस्थायी केन्द्रको रुपमा वडा नम्बर ४ घोडाबासमा राखिएको थियो । कुनै स्थानीय तहको नाम र केन्द्रका विषयमा विवाद आएमा ६ महिनाभित्र गाउँसभामा कायम सदस्य संख्याको बहुमतबाट टुङ्गो लागाउन सकिने व्यवस्था छ ।

यदी ६ महिनाभित्र पनि नाम र केन्द्रको टुङ्गो लाग्न नसके सम्बन्धीत स्थानीय तहको गाउँ तथा नगरसभामा कायम सदस्य संख्याको दुइतिहाई मत आवश्यक पर्दछ । सम्बन्धीत स्थानीय तहको मेयर अथवा अध्यक्षको भोट भने निर्णायक हुने व्यवस्था छ ।

लामो छलफलबाट गुराँस गाउँपालिकाको स्थायी केन्द्र काहाँ राख्ने भन्ने विषयमा टुङ्गो नलागेपछि अन्ततः निर्वाचन गराइएको हो ।