☰ open Loading... 20 April 2024|  

पञ्चपुरीमा व्यवस्थित शहरका लागि मापदण्ड
  | २७ फाल्गुन २०७५, सोमबार १८:५३

सुशील खड्का
सुर्खेत । पश्चिम सुर्खेतको बावियाचौरमा रहेको पञ्चपुरी नगरपालिकाले नगर क्षेत्रमा व्यवस्थित शहर निर्माण गर्न मापदण्ड तयार गर्न लागेको छ । नगर क्षेत्रमा रहेको कृषियोग्य जमिन खण्डीकरण हुन थालेपछि नगरपालिकाले शहरी योजना तथा भवन निर्माण मापदण्ड तयार गर्न लागेको हो ।


शहर निर्माणको क्रममा रहेको नगरपालिकाले मापदण्ड तयार गरेपछि नगर क्षेत्रमा भवन निर्माणमा एकरुपता र कृषियोग्य जमिन खण्डीकरणमा रोक लाग्नेछ । नगर प्रमुख उपेन्द्र थापाले नगर क्षेत्रका सडकहरु १० मिटरका बनाउने योजना अघि सारेका थिए । नगरपालिकाले समथर क्षेत्रमा १० मिटर र पहाडी क्षेत्रमा ८ मिटरदेखी तलका सडक निर्माण नगर्न यसअघि नै निर्देशन दिइएको थियो ।

‘देशका ठूला शहरहरुले अहिले साँघुरा सडकका कारण सास्ती झेल्नु परेको छ’ नगर प्रमुख थापाले भने, ‘शहर विकासको क्रममा रहेको नगरालिकाले त्यो अवस्था झेल्न नपरोस् भनेर मापदण्ड अहिले नै बनाउँन लागेका हौं ।’

नगरपालिकाको चौथो नगरसभामा शहरी योजना तथा भवन निर्माण मापदण्ड २०७५ पेश गरिएको छ । आइतबारदेखी शुरु भएको नगरसभामा नगरलाई व्यवस्थित नगरको रुपमा विकास गर्न मापदण्डमाथि दफावर छलफल जारी छ । मापदण्ड पारित भएपछि नगर क्षेत्रमा कम्तिमा १० मिटरको मात्रै कित्ताकाट गरिने छ ।

‘विगतमा ५ मिटर घडेरी खरिद गर्दा नगरका भित्री क्षेत्रमा सडक विस्तार गर्न समस्या भएको छ’ प्रमुख थापाले थपे, ‘शहरको आकर्षक पक्ष भनेकै सडक हो त्यसैले व्यवस्थित सडकका लागि मापदण्ड अनिवार्य गरिने छ ।’ नगरपालिकाले अन्तरप्रदेश जोड्ने सडकको क्षेत्र ३० मिटर र अन्तरपालिका जोड्ने सडकको क्षेत्र २० मिटर छोड्नु पर्ने अनिवार्य मापदण्ड तोक्ने छ ।

सभाले लेखा समिति, बालविवाह बिरुद्ध कार्यक्रम संचालन खर्च तथा मर्मत सम्भार कोष सञ्चालन कार्यविधि पारित गरेको छ । यस्तै, शिक्षा नियमावली २०७५ पारित गरेको छ भने, विनियोजन ऐन तथा कार्यक्रम संशोधन तथा परिमार्जन गरेको छ ।

नगरसभाले आगामि आर्थिक बर्ष २०७५/०७६ का लागि संशोधित ५२ करोड ३९ लाख ९६ हजार बराबरको अनुमानित आय–व्यय प्रस्तुत गरेको छ । नगरसभाले यसअघिका विकासको समिक्षा तथा विभिन्न योजनालाई संशोधन गरेको छ । ६० जना नगरसभा सदस्य भएको सभामा बहूतप्राप्त सदस्यहरुको उपस्थिति छ ।