☰ open Loading... 19 April 2024|  

मन्त्री र प्रशासन प्रमुखद्वारा क्यान इन्फोटेकको अवलोकन
  | २७ फाल्गुन २०७५, सोमबार १९:२८

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २४ गतेदेखि संचालन भइरहेको क्यान इन्फोटेकको कर्णाली प्रदेशका मन्त्री तथा प्रशासन प्रमुखहरुले अवलोकन गर्नु भएको छ ।

इन्फोटेक शुरु भएको तेस्रो दिनका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले अवलोकन गर्नु भएको थियो भने चौथो दिन कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव रामप्रसाद थपलिया र सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी प्रदीप बहादुर क्षेत्री लगायतले इन्फोटेकको अवलोकन गर्नु भएको छ ।

इन्फोटेक अवलोकनको क्रममा प्रमुख सचिव थपलियाले कर्णालीलाई डिजिटल प्रदेशको रुपमा विकास गर्नका लागि प्रदर्शनी स्थलको खाँचो भएको बताउनु भएको छ । यस्ता इन्फोटेकहरु पटक – पटक संचालन गर्न जरुरी रहेको बताउँदै प्रमुख सचिव थपलियाले यस्ता इन्फोटेकहरुको अवलोकनका लागि धेरै भन्दा धेरै जनाको सहभागीता गराउन आवश्यक रहेको बताउनु भयो ।

सरकारले आफ्नो तर्फ गर्न सक्ने सहयोग गर्छ भन्दै उहाँले भन्नुभयो, ‘यो प्रदेशमा खासै जमिनको अभाव छैन त्यसैले स्थायी रुपमै प्रदर्शनी गृहको संरचना तयार गर्न सके कर्णाली प्रदेशले लिएको डिजिटल प्रदेश निर्माणमा टेवा पुग्नेछ ।’ प्रविधिको क्षेत्रमा इन्फोटेक आकर्षक भएको बताउँदै प्रमुख सचिव थपलियाले विद्यालयदेखि वडा तथा स्थानीय तहले पनि प्रविधिको विकासका लागि योगदान गर्न आवश्यक भएको बताउनु भयो । समयमा नै यस्ता कार्यको उजागर गर्दै दक्षता र क्षमतामा बृद्धि गर्न जरुरी भएको बताउनु भयो ।

अवलोकनमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले इन्फोटेक आफूले सोचेको भन्दा पनि राम्रो भएको बताउनु भयो । सुर्खेतमा प्रविधिको विकास गर्नका लागि योजना बनाएर अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो । नीजि व्यावसायीसँगै सरकारले पनि यसलाई प्रोत्साहन गर्नु पर्ने प्रजिअ यादवको भनाई थियो ।

इन्फोटेकको अवलोकन गर्दै कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले कर्णालीलाई प्रविधिमा सक्षम बनाउने कार्यमा नीजि तथा सरकारी क्षेत्र समेत लाग्न जरुरी भएको बताउनु भयो । उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश सरकार प्रविधिको विकास गर्नका लागि कटिवद्ध भएर लागेको छ ।

चौथो दिन विभिन्न विद्यालयका विद्यार्थीहरु लगायत ९ हजार ३ सय बढि दर्शकहरुले इन्फोटेकको अवलोकन गरेका छन् । सुर्खेतका विद्यार्थीहरुले निर्माण गरेका विभिन्न इलेक्ट्रोनिक्स समानहरुको समेत प्रदर्शनी भइरहेको छ । एडभान्स बेटर इङ्गिस मिडियम स्कुल वीरेन्द्रनगर ३ सुर्खेतमा कक्षा ७ मा अध्ययन गर्ने विद्यार्थीहरुले निर्माण गरेको रोबर्ट, क्वीज मेसिनलगायतका सामग्रीहरु निर्माण गरेका छन् ।

इन्फोटेकमा आएर विभिन्न प्रविधिहरुको ज्ञान हासिल गर्न पाएकोमा निकै खुसी भएको बताउँछन् माउण्ट एभरेष्ट स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी सुजन पुलामी । सोही विद्यालयका अर्का विद्यार्थी मनु ढंगानाले कम्प्यूटर चलाउने देखि त्यसको प्रयोग र फाइदा लगायत सेक्यूरिटीसम्मको ज्ञान हासिल गर्न पाएको बताउनु भएको छ ।

दृष्टिविहिनहरुलाई सेतो छडी प्रदान

यसै गरी इन्फोटेकमा ४७ जना दृष्टिविहिनहरुलाई ब्राइड स्टार सोसाइटीले सेतो छडी प्रदान गरेको छ । कम दृष्टि भएकाहरुलाई म्याग्नीफायर ल्लास वितरण गरिएको छ भने टकिङ्ग क्याल्कुलेटरसमेत वितरण गरिएको छ । दृष्टि भएका र दृष्टि बिहिनहरु गरेर ३ सय ५० जनालाई दृष्टिविहिन सम्बन्धि चेतना मुलक शिक्षा प्रदान गरिएको छ । जसका लागि नेत्र हिन संघ सुर्खेत शाखा, दृष्टिबिहिन हेरविचार केन्द्र सुर्खेत र ब्राइड स्टार सोसाइटीका बासुदेव अधिकारी तथा सुशील अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

इन्फोटेकमा जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले १ हजार भन्दा बढिलाई ट्राफिक जनचेतनामुलक प्रदान गरेको जनाएको छ ।

कर्णाली प्रदेशमै पहिलो पटक पब–जी अनलाइन खेल

इन्फोटेकको चौथो दिनको मुख्य आकर्षकको रुपमा रहेको कर्णाली प्रदेशमै पहिलो पटक पब–जी अनलाइन खेल प्रतियोगीता संचालन भएको छ । २५ वटा समूहमा १ सय जना विद्यार्थीहरुले भाग लिएको उक्त खेलमा एजेण्ट क्रु समूह प्रथम भएको छ भने हेन्सम समूह दोस्रो भएको छ ।

इन्फोटेक भोलि मंगलबार साँझ समापन हुने कार्यक्रम रहेको आयोजक संस्थाका संयोजक प्रेम प्रकाश चन्दले बताउनु भयो ।