☰ open Loading... 19 April 2024|  

जमुनाहा–हिल्सा दु्रतमार्ग ः कर्णालीको समृद्धिमा कोशेढुंगा
  | ८ चैत्र २०७५, शुक्रबार १७:५९

सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो वार्षिक नीति तथा कार्यक्रममै उल्लेख गरेको आयोजनामा पर्दछ, जमुनाहा–हिल्सा द्रुतमार्ग । नेपाल–भारत दक्षिणी नाका जमुनाहादेखि उत्तरी नाका हिल्सा जोड्ने यस आयोजनाको प्रारम्भिक सर्भे पुरा भइसकेको छ । चीन सरकारको स्वामित्वमा रहेको चाइना रेल्वे इन्जिनियरिङ कम्पनीले पहिलो चरणमा सुर्खेत–हिल्साको सम्भाव्यता अध्ययन सम्पन्न गरेको हो ।


२०७५ बैशाख १ गते रारा–कर्णाली पर्यटन वर्ष उद्घाटनको पूर्व सन्ध्यामा रारामा सम्पन्न प्रदेश मन्त्रिपरिषद् बैठकले यही सडकलाई जमुनाहा–हिल्सा प्रधानमन्त्री अन्तर्राष्ट्रिय दु्रतमार्गका रुपमा नामकरण ग¥यो । र, सङ्घीय सरकारलाई सहयोग गर्न आग्रह गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकका निर्णयहरु हस्तान्तरण गरिएको थियो ।

कर्णाली सरकारको अनुरोधबमोजिम प्रधानमन्त्रीको असार पहिलो साता सम्पन्न चीन भ्रमणमा कर्णाली आर्थिक करिडोर विकासका लागि सम्भाव्य सहयोग गर्न चीन सरकार सहमत भएको थियो । असोजमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको चीन भ्रमण क्रममा त्यहाँको सरकारी टोलीसंग द्रूतमार्ग निर्माणका लागि प्रारम्भिक समझदारी भएको थियो ।

सङ्घीय सरकारले चिनियाँ कम्पनीलाई सर्भे गर्न स्वीकृति दिएपछि दू्रतमार्ग निर्माणको सपना पुरा हुने भएको हो । कर्णाली सरकारका भौतिक पूर्वाधार विकासमन्त्री खड्कबहादुर खत्रीले प्रारम्भिक अध्ययन सकिएकाले विस्तृत सम्भाव्यता अध्ययनका लागि सङ्घीय सरकारसमक्ष अनुरोध गरिसकेको जानकारी दिए ।

उनका अनुसार चिनियाँ कम्पनीलाई डिपिआरका लागि कम्तीमा चार महीना लाग्ने छ । प्रारम्भिक प्रतिवेदनमा सुर्खेत–हिल्सा ४ सय ३ किमी हुनेछ । प्रतिवेदनमा कतिपय स्थानमा सुरुङ बनाउन सकिने उल्लेख छ जसले गर्दा ४० किमी दुरी छोटो पर्नेछ । मन्त्री खत्रीले हिल्सासम्म द्रूतमार्ग निर्माण गर्ने आफूहरुको चाहना पुरा भए कर्णालीको विकासमा ठूलो मद्दत पुग्ने दाबी गरे ।

‘भारतीय पर्यटकहरु कर्णालीको बाटो हुँदै मानसरोबर पुग्नेछन्,’ उनले भने, ‘यहाँका उत्पादनहरुको बजारीकरण गर्नमात्र होइन आवागमनमा समेत यो रुट सहज हुनेछ ।’ अन्तर्राष्ट्रियस्तरको यो फाष्ट ट्रयाक बनेसंगै हाल सञ्चालित कर्णाली राजमार्ग र कर्णाली करिडोर यसका सहायक मार्गका रुपमा प्रयोगमा आउनेछन् ।

कात्तिक २७ गतेदेखि ७ सदस्यीय प्राविधिक टोलीले भौगोलिक अवस्थाको अध्ययन गरेको हो । ‘सडक क्षेत्रको भौगोलिक अवस्था राम्रो देखिएको छ, प्रारम्भिक अध्ययन सकारात्मक देखिएको छ’ चिनियाँ रेल्वे इन्जिनियरिङ कम्पनीका प्राविधिकलाई उद्धृत गर्दै उनले भने, दु्रतमार्ग बनेमा ५ देखि १० घण्टामा सुर्खेत–हिल्सा पुग्न सकिन्छ ।

१२१ किमीमात्र नयाँ ट्रयाक खन्नुपर्ने अवस्था छ ।’ दोस्रो चरणमा निर्माण कम्पनीले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाउने कार्य अघि बढाउनेछ । दोस्रो चरणमा लगानीको लागत अनुमान, समयावधि, गुणस्तर लगायतका विषयमा अध्ययन गरिनेछ । प्रदेशसभा सदस्य धर्मराज रेग्मीले जमुनाहा–हिल्सा दु्रतमार्गलाई कर्णाली समृद्धिको आधारका रुपमा लिन सकिने बताए ।

‘प्रदेश ५, कर्णाली र सुदुरपश्चिम प्रदेशको जनजीवनसंग प्रत्यक्ष जोडिएको त्रिदेशीय सडक हो यो’ उनले भने, ‘यसले सडक पूर्वाधारको क्षेत्रमा कर्णालीमा क्रान्ति नै ल्याउनेछ ।’ दु्रतमार्ग निर्माणमा सङ्घीय सरकारले समेत सकारात्मक सहयोग गरेको उनको भनाई छ । गत असोजमा मुख्यमन्त्रीसंगै चीन भ्रमणमा जानुभएका प्रदेश सभा सांसद रेग्मीले चिनियाँ सरकारले कर्णालीको विकासमा विशेष चासो राखेको धारणा व्यक्त गरे ।