सुशील खड्का
सुर्खेत । कर्णाली प्रदेशका स्थानीय तहहरुमा पहिलो पटकमा प्रदेश प्रवेशद्वार नगरपालिका भेरीगंगाले आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना गरेको छ । भौगोलिक रुपमा विकट रहेको भेरीगंगा नगरपालिका भित्रका वडाहरुमा तत्काल उद्धार टोली पठाउन आवश्यक सामग्रीहरुसहित केन्द्र स्थापना गरेको हो ।
नगरपालिकाको लेखपराजुल भू–क्षय हुने सम्बेदनशिल वडा हो । ‘एक वडालाई मात्रै लक्षित गरेर नभई समग्र नगरपालिका वडाहरुमा तत्काल उद्धार टोली पठाउन सामग्रीहरुको जोहो गरेका हौं’ नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णप्रसाद खरेलले भने, ‘केन्द्रमा उद्धारका सम्पूर्ण सामग्रीहरुसहित विस्थापित परिवारका लागि आवश्यक अन्य सामग्रीहरु राखेका छौं ।’
नगरपालिका क्षेत्रका भेरी नदी र साना खोलाका कारण बाढी पहिरो बढी हुने खतरा भएकाले उद्धार सामाग्रीसहितको केन्द्र स्थापना गरेको खरेलको भनाई छ । नगरपालिकाका लेक तथा फाँट झिगुनी, दह, घारीवन, ठूलो खाली, सानो नाच्ने, कैनपानी, सामाखोरीया, नमुना टोल, मसिना पटारे लगायतका स्थानहरु जोखिमयुक्त तथा प्रभावित क्षेत्र हुन् ।
केन्द्रमा स्टेचरहरु, त्रिपाल, जुत्ता, कपडा, २० ओटा लाईफ ज्याकेट, बेल्चा, घैंटी, माईक, फस्र्ट एड किट, आगो नियन्त्रण यन्त्र, डोरीलगायतका अत्यावश्यक सामाग्रीहरु जर्मन सरकारसँगको साझेदारीमा नगरपालिकाले भित्र्याएको हो ।
प्रकोपका घटनाहरु भएमा तत्काल कुनै पनि थानहरुमा राहत लिएर उद्धार गर्न सहज हुने अपेक्षा खरालको छ । भेरीगंगाले विगत पाँच वर्षमा बाढी, पहिरो, हवाहुरी र आगलागी जस्ता घटनाका कारण करोडौं धनजनको क्षती व्यहोर्नु परेको छ ।
‘सडक पुगेको स्थानहरुमा आगलागी भएमा तत्काल आगो निभाउन जाने दमकल पहिले नै ल्याएको छौं’ खरालले भने, ‘विकट बस्तीहरुमा हुने विपद्का घटनाहरुमा अन्य सामाग्रीले राहत दिनेछन् ।’ चालु आर्थिक वर्ष २०७५÷०७६ का लागि नगरपालिकाले विपद व्यवस्थापनका लागि ७० लाख बजेट विनियोजन समेत गरेको छ ।