☰ open Loading... 19 April 2024|  

वीरेन्द्रनगरकाे खानेपानी संकट टार्न सहकार्य गरौं : सांसद कंडेल
  | १९ चैत्र २०७५, मंगलवार १८:३०

सुर्खेत । प्रदेश सभाका सांसद एवम् युवा नेता यामलाल कँडेलले सुर्खेत उपत्यकाको खानेपानी समस्या समाधानका लागि सहकार्य गरेर जानु पर्ने बताएका छन् । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाई संस्था सुर्खेतको अठारौँ साधारण सभाका बोल्दै कँडेलले पार्टीगत राजनीति नभनी खानेपानीको समस्या समाधान गर्न जिम्मेवारी निकायहरुबिच सहकार्य हुनुपर्ने बताएका हुन् ।


‘वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै खानेपानीको हाहाकार हुने अवस्था आएको छ ।’ सांसद कँडेलले भने ‘यो समस्या हल गर्न वीरेन्द्रनगर नगरपालिका र संस्थाबिच सहकार्य आवश्य छ ।’ खानेपानी समस्या कुनै दलको नभई समग्र उपत्यकावासीकै भएको उल्लेख गर्दै कंडेललले जिम्मेवार निकायले आफ्नो कर्तव्य जिम्मेवारीपूर्वक पुरा गर्न समेत आग्रह गरे ।

‘तपाईहरु दुबै जना जनताद्धारा निर्वाचित व्यक्तिहरु हो ।’ संस्थाका अध्यक्ष कुलमणि देवकोटा र वीरेन्द्रनगरका नगरप्रमुख देवकुमार सुवेदीलाई अंगित गर्दै कँडेलले थपे ‘दुवै जन निर्वाचित प्रतिनिधिले जनताको प्यास मेटाउन सहकार्य गर्नाेस ।’ ‘वीरेन्द्रनगरले राजधानी हुने मौका पाएसँगै दायित्व पनि बोकेर ल्याएको छ ।’ कँडेलले भने ‘त्यो जिम्मेवारी भनेको खानेपानी समस्याको समाधान र व्यवस्थित शहर निर्माण गर्नु हो ।’

उनले आफ्नो पहलमा ७÷८ महिनामा बुलबुले र काँक्रेविहारको अनुहार परिवर्तन हुन थालेको समेत जानकारी दिए । बुलबुले र नगरभित्रका सडकको मर्मतको लागि टेण्डर भैसकोको भन्दै केही समय अघि बढेको उनको भनाई थियो । यस्तै सभामा नगरप्रमुख देवकुमार सुवेदीले स्वच्छ खानेपानी ल्याउन सवै एकताबद्ध भएर लाग्नु पर्ने बताए ।

आफु जनप्रतिनिधि भएको हिसावले भेरी नदीको पानी उपत्यकामा ल्याउन सक्दो पहल गर्ने समेत प्रतिबद्धता जनाए । ‘भेरीको पानी नै उपत्यकावासीको प्यास मेटाउने एकमात्र विकल्प हो ।’ सुवेदीले भने ‘भेरीको पानी उपत्यकामा ल्याउन नगरपालिकाको कुनै कदम बाँकी रहनेछैन ।’

वीरेन्द्रनगरलाई व्यवस्थित गर्न लागि रहेको जानकारी दिँदै सुवेदीले भने ‘गुरु योजना निर्माण गरेसँगै वीरेन्द्रनगर व्यवस्थित शहर बन्ने छ ।’ साधारण सभामा अध्यक्ष कुलमणि देवकोटाले संस्थाको प्रगति विवरण पेश गरेका थिए ।

प्रतिवेदनमा उल्लेख गरिए अनुसार आर्थिक वर्ष २०७५÷०७६ को फागुन मसान्त सम्म सञ्चालनतर्फको आम्दानी तीन करोड ८ लाख ७२ हजार रुपैयाँ रहेको छ भने, गैरसञ्चालन आम्दानी तर्फ १४ लाख ९७ हजार गरी जम्मा तीन करोड २३ लाख ६९ हजार रहेको छ । संस्थाले चालु आर्थिक वर्षभित्र खर्चतर्फ ४६ लाख ७९ हजार रुपैयाँ र कार्यालय सञ्चालनतर्फ एक करोड सात लाख खर्च भएको छ ।

त्यस्तै पूँजिगत खर्चतर्फ ४२ लाख ७ हजार, नगर विकास कोष सावा व्याज किस्ता ८२ लाख ६९ हजार रुपैयाँ गरी जम्मा खर्च २ करोड ७९ लाख ३२ हजार रुपैयाँ खर्च भएको छ ।

गत आर्थिक वर्षको बैंक मौज्दात र यस आर्थिक वर्षको फागुन मसान्तसम्मको बैंकमा मौज्दात ३ करोड ५२ लाख ४५ हजार रुपैयाँ रहेको छ । आर्थिक वर्ष २०७४÷०७५ मा ८ करोड ५० लाख ६८ हजार आम्दानी र खर्च तर्फ ९ करोड ९९ लाख २२ हजार रुपैयाँ गरेको थियो ।