नयाँ प्रविधिले जडतालाई तोड्दछ । यसले मानिसको मानसिकतामा परिवर्तन ल्याउँछ । तर जब हामी प्रविधि उद्योगमा विविधताको बारेमा कुरा गर्दछौँ तब सबैभन्दा ठूलो समस्याको रुपमा अहिलेको प्रविधि उद्योगका दिग्गजहरुको जड मानसिकता देखा पर्दछ ।
एक सजातीय समूह, जसमा अधिकांश गोरो वर्णका पश्चिमाहरु सामेल थिए । उनीहरुले प्रविधि उद्योगको स्थापना गरे र त्यसमा लगानी गरे । सुरुवातबाटै उनीहरुले यस्तो माहोल बनाए कि जो मानिसहरुको वर्ण उनीहरुकै जस्तो हुन्छ केवल त्यस्ता मानिसहरु मात्र यस क्षेत्रमा सफलता प्राप्त गर्ने सम्भावना धेरै हुन्छ ।
पुरुष लगानीकर्ताहरुको पूर्वाग्रहले उनीहरुलाई महिला संस्थापकका कम्पनीहरुमा लगानी गर्नबाट रोक्यो । गोरा मानिसहरुले आफ्नो नश्लीय समूह तथा क्षेत्रभन्दा बाहिर लगानी गरेनन् । यो समस्या अहिले पनि कायमै छ ।
गत वर्ष अमेरिकामा उद्यम पुँजीको ठूलो हिस्सा गोराजातिका पुरुषहरुको कम्पनीमा लागेको थियो । महिला संस्थापकको कम्पनीहरुमा उद्यम पुँजीको केवल ९ प्रतिशत मात्र पैसा गयो । अझ कालाजाति वा ल्याटिनोहरु संस्थापकभएका कम्पनीहरुमा केवल ३ प्रतिशत मात्र लगानी भित्रियो ।
गोराहरुको प्रभुत्व
उद्यम पुँजीपतिहरुमा ९० प्रतिशत गोराजातिका पुरुषहरु छन् । त्यसमध्ये धेरै मानिसहरुले आफ्नो समूहभन्दा बाहिरको दुनियाँ देखेका पनि छैनन्, जहाँ अरु मानिसहरु छन् । म्याट्रिक्सबाट थाहा हुन्छ कि महिलाहरु तथा सिमान्त जातिय वा नश्लीय समूदायका मानिसहरुलाई लगानीका लागि कति थोरैमात्र पैसा प्राप्त हुन्छ ।
बोस्टन कन्सल्टिङ ग्रुपले सन् २०१८ मा गरेको एक अध्ययन अनुसार महिला संस्थापकहरुलाई उनीहरुका पुरुष समकक्षीहरुका कम्पनीमा प्राप्त हुने लगानीको तुलनामा केवल आधा मात्र लगानी प्राप्त हुन्छ । रिपोर्टमा उल्लेख भए अनुसार काला जातिका महिला संस्थापकहरुलाई औषतमा जम्मा ४२ हजार डलरको फण्ड प्राप्त भयो, जबकी औषत फण्डको आकार ११ लाख डलरको रहेको थियो ।
डिजिटल अनडिभाइडेट नामक उक्त रिपोर्ट अनुसार पछिल्लो दशकमा कूल उद्यम पुँजीको केवल ०.३ प्रतिशत हिस्सा मात्रै ल्याटिन अमेरिकी महिलाहरुलाई प्राप्त भएको छ । यस अध्ययनले दृष्टिकोणको समस्या तथा विविधताको फाइदा, दुबै विषयमा खोज गरेको छ।
विविधताका फाइदा
· सन् २०१५ को म्याकिन्से रिपोर्ट अनुसार नश्लीय, जातीय तथा लैंगिक विविधतायुक्त कम्पनीहरुको व्यवसायिक सफलताको दर उच्च रहेको छ ।
· बोस्टन कन्सल्टिंग ग्रुपको रिपोर्ट अनुसार महिला संस्थापकका स्टार्टअपहरुको वित्तिय प्रदर्शन उत्कृष्ट रहने गरेको छ ।
· त्यस्ता कम्पनीहरुले पाच वर्षमा १० प्रतिशत बढि राजश्व जम्मा गर्न सफल भए । प्रति डलर लगानीको अनुपातमा त्यस्ता कम्पनीले गर्ने आम्दानी पनि दोब्बर रहेको छ।
केही विषयहरुमा मानिसहरु प्रविधिको क्षेत्रलाई कसरी हेर्दछन् भन्ने सोँच पनि बदलिएको छ । सयौँ मानिसहरु आफुमाथिको भेदभावको कथा शेयर गरिसकेका छन् । पछिल्लो समयमा त्यस्ता कथा, व्इवहार तथा दृष्टिकोणहरु सबै बदलिँदै छन् । उदाहरणका लागि कतिपय कम्पनीहरुले महिला साझेदार भित्राउने गरेका छन् । यसले परिवर्तन सम्भव छ भन्ने त देखाउँदछ, तर त्यो माथिबाटै हुनुपर्दछ ।
यदि कुनै कम्पनीमा तल्लो तहमा वा मध्यम तहका कर्मचारीहरुमा मात्र धेरै महिला राख्ने तर त्यस्ता निम्न तहका महिलाहरुलाई जागिर राख्ने, निकाल्ने तथा उनीहरुको तलब तोक्ने लगायतका अधिकारहरु केवल पूर्वाग्रही पुरुषहरुसँग रहने हो भने उद्यम पुँजी र उद्यमशीलतामा पुरुषहरुको बर्चस्व कायमै रहनेछ।
प्रविधिलाई कसरी बनाउने उत्कृष्ट ?
प्रविधिलाई विविधतापूर्ण र समावेशी बनाउनका लागि भविष्यमा व्यापार क्षेत्रका अग्रणीहरुले नै कम्पनी खोल्नु पर्दछ र सुरुवातमै तीनवटा मूल्यमा ध्यान दिनुपर्दछ ।
पहिलो मूल्य हो, समावेशीता ।
सन् १९८७ मा काला जातिकी महिलावादी विद्वान किम्बर्ले क्रेशोले एउटा शव्द प्रतिपादन गरेकी थिइन्, ष्लतभचकभअतष्यलबष्तिथ ।
लिंग तथा नश्ल जस्ता पहिचानहरु कसरी विभिन्न तरिकाले आपसमा सम्बन्धित हुन्छन् भन्ने कुरा उनले बताएकी थिइन् । जब यी कुरा एक आपसमा ठोक्किन्छन् तब पूर्वाग्रहयुक्त सामाजिक असमानता र भेदवावको कारण बन्दछन् ।
उदाहरणका लागि काला जातका तथा ल्याटिन अमेरिकी महिला संस्थापकहरुका लागि कम्पनीको फण्ड जम्मा गर्न गोरा महिलाको तुलनामा समस्या हुने गर्दछ ।
दोश्रो मूल्य हो बुझाइको व्यापकता । नाम मात्रको प्रयास तथा नियुक्तिले काम चल्नेवाला छैन । यसको साटो कामको सबै स्तरमा र सबै समूहमा विविधता र समावेशीता हुनु आवश्यक हुन्छ ।
तेश्रो मूल्य हो जवाफदेहीता । जबसम्म प्रगति र अधोगतिको मापन गर्नका लागि निश्चित विधिको प्रयोग हुँदैन तबसम्म खासमा कति प्रगति भयो भन्ने कुरा जान्न सकिँदैन ।
हाकिमहरु ठीक भएमा सबै ठीक हुन्छ
कार्यकारी तथा बोर्डस्तरका पदहरुमा विविधतायुक्त कर्मचारीको नियुक्ति गर्दा धेरै परिर्वत ल्याउन सकिन्छ । जागिरको खोजीमा रहेका सम्वेदनशील उम्मेदवारहरुल्े सबैभन्दा पहिला पद खाली रहेको कुनैपनि कम्पनीको वेबसाइट हेर्दछन् । त्यहाँका विभिन्न पद र तहहहरुमा कर्मचारीहरुको विविधता कस्तो छ भनेर जान्ने प्रयास गर्दछन् र आफ्नो लागि अवसरको खोजी गर्दछन् ।
उनीहरु उच्च पदस्थ अधिकारी, सिइओ तथा बोर्ड सदस्यहरुमध्ये को सँग कति अधिकार र शक्ति छ भन्ने कुरा बुझ्दै कम संख्यावाला समूहका कर्मचारी उक्त कम्पनीको पदसोपानमा कहाँसम्म पुग्न सक्दछ भन्ने कुराको आँकलन गर्दछन् ।
कतिपय कम्पनीमा बोर्डका सिटहरुमा लगानीकर्ताहरुलाई बाँडचुँड गरिएको हुन्छ । उद्यम पुँजी कम्पनीहरुमा विविधता नहुनाले बोर्डमा विविधता आउन पाउँदैन जसले कम्पनीको व्यवसायिक सफलतामा असर पार्दछ । त्यसैले लगानीकर्ताले आफ्नो टीमलाई हेर्दै आफ्नो पूर्वाग्रहलाई त्यागेर आफ्नो लक्ष्य निर्धारण गर्नुपर्दछ । यदि कम्पनीको शीर्ष नेतृत्वमा विविधता ल्याउन सकिएमा पूर्वाग्रहलाई समाप्त पार्न सजिलो हुन्छ ।
बीबीसी