☰ open Loading... 17 November 2024|  

‘जनप्रतिनिधीकै आफन्तले डोजर चलाउने भए हाम्रा मेशीनका चावी बुझाउँछाैं’
  | १० बैशाख २०७६, मंगलवार १७:३३

डेक्स सम्वाददाता
सुर्खेत । विकास निर्माणको काम निर्माण व्यवसायीहरुलाई गर्न दिन सरकारसंग माग गरिएको छ । मनोमानी रुपमा उपभोक्ता समितिमार्फत विकासको काम गराउनु गलत भएको नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतले मंगलबार पत्रकार सम्मेलन गरेर सरकारसंग माग गरेको हो ।

स्थानीय तहहरुमा आफ्ना आफन्तहरुलाई काम दिन मनोमानी रुपमा मेसिन औजार किनेर काम गरकोमा आपत्ती जनाउँदै समाजले तत्काल यस्ता कार्य रोक्न माग गरेको छ । उपभोक्ता समिति गठन गरी, विना लागत अनुमान तयार नगरी हचुवाको भरमा काम गर्नु गलत भएको समाजको भनाई छ ।

‘उपभोक्ताका नाममा विना धरौटी करोडौं सरकारी रकम खुलेआम दुरुपयोग भइरहेको छ’ नेपाल निर्माण व्यवसायी एकता समाज सुर्खेतका वरिष्ठ–उपाध्यक्ष राजविन्द्र सापकोटाले भने, ‘यो कानुनी रुपमा गलत हो तर राज्य निहिर बन्दै गएकाले हामी गम्भीर ध्यानाकर्षण गराउँछौं ।’

उपभोक्ता समिति वा लाभग्राही समूह गठन गरी तोकिएको रकमसम्मको काम गर्न सकिने कानुनी प्रावधान हुँदाहुँदै सरकारले नरोकेकोमा सापकोटाले आपत्ती जनाए ।

उनले सार्वजनिक खरिद ऐन–२०६३ को नियमावली २०६४ बमोजिम स्पष्ट कानुन भएपनि त्यसको विपरित स्थानीय तहहरुमा काम जारी हुनु गलत भएको बताए । कानुनको पालना नगरेर जनप्रतिनीधिकै आफन्तले डोजर चलाउने भए आफ्ना मेशिनहरुको चावी सरकारलाई बुझाउने उनको चेतावनी छ ।

विज्ञप्ति