सुर्खेत । बर्दिया एक अर्कामा सिमाना जोडिएका जिल्लाहरु हुन्। तर सुर्खेतको वीरेन्द्रनगरदेखि बर्दिया भुरीगाउँसम्म पुग्न हाल ८७ किलोमिटरको यात्रा तय गर्नुपर्छ। साविकमा दुबै जिल्ला भेरी अञ्चलमा परे पनि संघीयतासँगै छिमेकी जिल्लाहरुको प्रशासनिक दुरी झनै टाढा भएको छ।
संघीयताले बर्दियालाई प्रदेश नं. ५ र सुर्खेतलाई कर्णाली प्रदेशमा विभाजित गर्यो। प्रदेशको राजधानीसमेत रहेको सुर्खेत र बर्दियाको साइनो र सम्बन्ध भने टाढिएको छैन। पुरानो छिमेकीदेखि छोरीचेलीको सम्बन्ध छ, सुर्खेत र बर्दियाको।
दुरी नजिक बनाउने वर्षौदेखि सुर्खेत–तेलपानी–भुरीगाउँ सडक निर्माणकालागि सुर्खेती जनताले आवाज उठाउँदै आएका छन्। तर, तराई र भित्रि मधेश जोड्ने सुर्खेतीको यो छोटो सडक सपना अधुरै छ। कहिले वन तथा पर्यावरणको समस्या त कहिले बजेटको समस्या भोग्दै आएको सुर्खेत–तेलपानी–भुरीगाउँ सडकले निर्माण व्यवसायीको ढिलासुस्ती पनि खेपेकै छ।
गत चार वर्षको अवधिमा त बजेट नै नपरेपछि सडक निर्माणको चर्चा हुने कुरो भएन। सरकारको प्राथमिकतामा नपर्दा कर्णाली प्रदेशलाई तराईसँग जोड्ने छोटो दुरीको उक्त सडकको निर्माण कार्य चार वर्ष ठप्प हुन पुग्यो। चार वर्षदेखि सरकारले बजेट नछुट्याएका कारण सडक निर्माणको कार्य हुन नसकेको डिभिजन सडक कार्यालय सुर्खेतले जनाएको छ।
बर्दिया निकुञ्जको आम्बासादेखि सुर्खेतको तेलपानी हुँदै वीरेन्द्रनगरसम्मको ५२ किलोमिटर सडक खण्डको अधिकांश भागमा ट्रयाक खुलेपनि बजेटले निरन्तरता नपाउँदा निर्माणको काम पुरा हुन सकेको छैन।
कर्णाली प्रदेशलाई तराईका जिल्लासँग जोडेर पर्यटन तथा व्यापार व्यवसायका लागि महत्वपूर्ण मानिएको तेलपानी– भुरीगाउँ सडक केन्द्रीय योजनामा समेत पर्न सकेन। अहिले यो सडक प्रदेश सरकारको तारातालदेखि रारा तालसम्मको सडक योजनामा पर्छ। तर अहिलेको बजेटबाट पनि ठेक्का हुने सुरसार छैन। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्षमा तेलपानी भुरीगाउँ सडक निर्माणका लागि पाँच करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
पुलको डिजाइनमै ‘फल्ट’
यता तेलपानी–भुरीगाउँ सडकखण्डमै पर्ने खानीघाटको पुलमा भने डिजाइनमा फल्ट देखिएको छ। विसं २०६९ असार २९ मा पुलको निर्माण सम्झौतामा पप्पु÷मल्ल जेभी कन्ट्रक्सनले निर्माण कार्यको जिम्मेवारी पाएको रानीघाटको पुल डिजाइन गलत भएकै कारण रोकिएको छ।
१४ करोड २९ लाख ८९ हजारमा ठेक्का सम्झौता भएको चार वर्षसम्म २५ प्रतिशतमात्रै काम सम्पन्न भएको छ। निर्माण व्यवसायीले पिलरको आसनमा चट्टान हुँदा डिजाईन नै बदल्नु पर्ने बताउँदै आएका छ। निर्माण व्यवसायी कर्णबहादुर मल्लले डिजाइनमा परिवर्तन भएपछिमात्रै निमार्ण सुरु हुने बताएका छन् । ‘ओपन फाउण्डेशनको काम सकिनै लाग्दा डिजाइन समस्या देखियो।’, उनले भने, ‘केही दिनमै नयाँ डिजाइन आउँछ त्यसपछिमात्रै निर्माण थाल्छौं।’
यता सडक डिभिजन कार्यालय सुर्खेतले फल्ट भेटिएपछि नयाँ डिजाइनमा जुटेको बताएको छ। रि–डिजाइनको सम्पूर्ण काम सकिएको र केही महिनाभित्रै पुलले पूर्णता पाउने सडक डिभिजन कार्यालय सुर्खेतका जियोलोजिकल इन्जिनियर धिरज ढकालले जानकारी दिए।
नजिकिँदै कैलाली
यता सुदूरपश्चिमको कैलाली भने सुर्खेत पश्चिमसँग अझै नजिकिन थालेको छ। कैलालीको कुइनेस्थित कर्णाली नदीमा पुल निर्माण थालिएपछि दुरी कम हुने भएको हो। कुइनमा अनत/लुम्बिनी जेभीले पुल निर्माण गरिरहेको छ।
२०७२ सालमा ठेक्का सम्झौता भएको पुल सडक विभागले डिजाइन स्वीकृतमा ढिला गरेका थियो। नदीले धार परिवर्तन गरीरहने भएका कारण स्वीकृति हुन समय लागेको निर्माण कम्पनीका साइड इञ्चार्ज दिनेशकुमार श्रेष्ठ बताउँछन्। २०७४ फागुनमा डिजाइन स्वीकृत भएपछि पुल निर्माणको काम सुरु भएको छ।
यो पुल निर्माणसँगै साविक सुदूर र मध्यपश्चिमका सुर्खेत, कालिकोट, दैलेख, जुम्ला, हुम्ला, डोल्पा, मुगु, बाजुरा, अछामलगायत जिल्लाका बासिन्दाले छोटो दूरीको यात्रा गर्न पाउने छन्।
कुइनेमा पुल निर्माणपछि सुर्खेतको बड्डीचौर हुँदै कोहलपुर–चिसापानीसम्मको झण्डै दुई सय किलोमिटर सडक यात्रा ५२ किलोमिटरमा छोटिनेछ। सुर्खेतको बड्डीचौर हुँदै कुइनेबाट ५२ किलोमिटरको यात्रामै पूर्वपश्चिम राजमार्गको चिसापानी पुगिने छ। सो क्षेत्रमा दशकौंदेखि साविक सुदूर र मध्यपश्चिमका पहाडी जिल्लाका बासिन्दाले पैदल यात्रा गर्दै आएका छन्।