☰ open Loading... 16 November 2024|  

दाङको राजपुर गाउँपालिकामा दादुराको महामारी
  | १२ बैशाख २०७६, बिहीबार १९:०३

काठमाडौं– दाङको राजपुर गाउँपालिकाको वडा नम्बर ४ मा दादुराको महामारी फैलिएको छ।

एक महिना अघिबाट फैलिएको दादुराबा सो वडाका ५० भन्दा बढी बालबालिका प्रभावित भएका छन्।

दादुरा संक्रमित भएकामध्ये अधिकांश दादुराको खोप नपाएका बालबालिका हुन्।

राजपुर गाउँपालिकाका स्वास्थ्य संयोजक कमल आरसीले सुरुमा एक जना ल्याब असिस्टेन्टकी छोरीलाई दादुरा देखिएको र त्यसपछि संक्रमित बालबालिकाको संख्या बढ्दै गएको जानकारी दिए।

उनले भने, ‘एक महिनाअघि दादुराका बिरामी देखिएपछि विश्व स्वास्थ्य संगठनका चिकित्सक डा पवनकुमार उपाध्यायको टोली राजपुर आई सुरुमा ८ जनाको नमुना संकलन गरी जाँचमा पठाएको थियो, सबैमा दादुरा पोजेटिभ देखियो।’

अहिले ५० जनामा दादुरा रोग लागेको जाँचबाट देखिइसकेको र बिरामी आउने क्रम पनि जारी रहेको बताइएको छ।

गाउँपालिकामा गाभिनुअघि सो वडा पूर्ण खोप सुनिश्चित गाविस रहेको बताइएको छ ।

‘पूर्ण खोप सुनिश्चित हुँदा पनि गाउँमा गएर सर्वे गरेको हो, सबैले खोप लगाएको बताए। तर धेरै बालबालिका छुटेका रहेछन्। अहिले यस्तो विडम्बना भयो,’ स्वास्थ्य संयोजक आरसीले भने।

घटना स्थितिबारे बुझ्न परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका खोप अधिकृतद्वय भरत भण्डारी शुक्रबार राजपुर जाँदै छन्।

खोप अधिकृत भण्डारीले राजपुरमा दादुरा देखिएका अधिकांश खोप नपाएका बालबालिका रहेको बताए।

उनले भने, ‘राजपुरमा के कारणले दादुरा फैलियो, खोप कार्यक्रम किन प्रभावकारी भएन, खोप किन महत्वपूर्ण छ भन्ने विषयमा पालिकाका नेता, साझेदार संस्था, धर्मगुरु, धामीझाँक्री र स्वास्थ्यकर्मीसहितको सर्वपक्षीय बैठक गरेर विश्लेषण हुन्छ।’

उनले तत्काल रोग नियन्त्रणका लागि सो वडामा पाँच वर्षमाथिका बालबालिकामा रोग देखिएकाले महामारी देखिएको स्थानमा १५ वर्षसम्मका सम्पूर्ण बालबालिकालाई दादुरा खोप लगाइने जानकारी दिए।

सन् २०१९ मा नेपालबाट दादुरा रोग निवारण गर्ने भनिए पनि पछिल्लो समय विभिन्न जिल्लामा दादुराको महामारी फैलिरहेको छ।

दादुराविरुद्वको खोपमा पहुँच नबढ्नु, केही जिल्लामा खोप कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसक्नु, केही समुदाय विशेषलाई खोपको महत्वबारे विश्वास दिलाउन नसक्दा बालबालिका दादुराको खोप पाउनबाट बञ्चित भइरहेका छन्।

स्वास्थ्य खबरबाट