बालबच्चालाई हामी भन्छौ, ‘तिमी ठूलो मान्छे बन्नुपर्छ, फलानो जस्तै ।’ कसैले भेट्नसाथ बालबालिकालाई सोध्ने प्रश्न पनि उही हो, ‘ठूलो भएपछि के बन्छौ ? कस्तो बन्नेछौ ?’ अक्सर हामी उनीहरुको दिमागमा यो कुरा भरिदिन्छौ कि, उनले ठूलो मान्छे बन्नुपर्नेछ । ठूलो कस्तो ? हामी उदाहरणसहित भनिदिन्छौ, ‘मार्क जुकरबर्ग जस्तो, बिल गेट्स जस्तो ।’ गौतम बुद्ध, महात्मा गान्धी, लक्ष्मीप्रसाद देवकोटा जस्तो यस्तै-यस्तै नाम दिन्छौ ।
बच्चा कस्तो बन्ने त ?
महात्मा गान्धी जस्तो कि मार्क जुकरबर्ग जस्तो ? बच्चाले कुन आदर्श रोज्ने ? कसलाई पच्छ्याउने ? को जस्तो हुने ?
वास्तवमा हामीले यसरी ‘फलानो जस्तो बन्नुपर्छ’ भन्नु नै गलत छ । त्यसले बच्चालाई प्रेरित भन्दा बढी दबाव दिन्छ । दबावले तनाव । हाम्रा बच्चाहरु दिमागमा त्यही कुरा भरेर हिँड्छन् कि, भोलि मैले फलानो जस्तो बन्नुछ । अतः हामी सोध्छौ, ‘भविष्यमा तिमी के बन्छौ ?’
बच्चाले झटपट जवाफ दिन्छन्, ‘फलानो जस्तो ।’
बुवाआमाको इच्छा छोराछोरीमा लाद्ने
अक्सर बच्चालाई बुवाआमाले त्यही बनाउन चाहन्छन्, जो उनको इच्छा थियो । अर्थात आफ्नो इच्छा र आकंक्षा बच्चामाथि लाद्ने गरिन्छ ।
कतिपय अभिभावकले आफ्नो अधुरो इच्छा छोराछोरीमार्फत पुरा गराउन चाहन्छन् । जस्तो कुनै व्यक्ति अभिनेता बन्न चाहन्थे, तर उनी त्यसमा सफल भएनन् । अब उनले आफ्नो बच्चामाथि त्यो इच्छा लाद्न थाल्छ । अर्थात आफु जुन कुरामा अतृप्त छन्, त्यही कुरा बच्चामार्फत तृप्त गराउन खोज्छन् ।
कोही व्यक्तीलाई चर्चित बन्ने भोक थियो, उनी आफ्नो जीवनकालमा चर्चित भएनन् । अब छोराछोरीमा उनी यस्तो सपना बिच्छ्याउन थाल्छन् ।
छोराछोरीको भविष्यमा पनि बुवाआमाले हस्तक्षेप गर्छन् । बच्चा गर्भमा रहँदै उनी के बन्ने भन्ने कुरा बुवाआमाले तय गरिदिन्छन् । भन्छन्, ‘म मेरो छोरोलाई फुटबरल बनाउँछु ।’ भन्छन्, ‘म मेरो छोरोलाई उद्योगपति बनाउँछु ।’
बच्चालाई के बन्ने, के नबन्ने थाहा हुँदैन । उनीहरुलाई भविष्यको चिन्ता पनि हुँदैन । यद्यपी अभिभावकले उनीहरुको कलिलो मस्तिष्कमा त्यही कुरा लाद्न थाल्छन्, ‘भोलि तिमीले यस्तो बन्नुपर्छ । फलानो जस्तो बन्नुपर्छ ।’
यहि कारण त बच्चामाथि अभिभावकको निगरानी र दबाव हुन्छ । बच्चालाई कहाँ पढाउने, के पढाउने भन्ने कुरामा समेत अभिभावकले हस्तक्षेप गर्छन् ।
छोराछोरी के बन्न चाहन्छन् ?
हामी सोध्दैनौ, भोलि तिमी के बन्न चाहन्छौ ?
हरेक बालकालिकाको आफ्नो रुची हुन्छ । आफ्नै खुबी हुन्छ । आफ्नै क्षमता हुन्छ । तर, हामीले अपेक्षा गरे अनुरुप उनीहरुमा क्षमता एवं खुबी नहुन सक्छ ।
जस्तो, म आफ्नो बच्चालाई चिकित्सक बनाउन चाहन्छु । आफ्नो बच्चा चिकित्सक हो भनेर गर्व गरेर हिँड्ने सपना देख्छु । आफन्त-इष्टमित्रलाई भन्छु पनि, ‘मेरो बच्चा चिकित्सक बन्नेछ ।’
तर, बच्चालाई विज्ञानमा रुची नहुन सक्छ । उनको क्षमताले पनि नभ्याउन सक्छ । त्यस्तो अवस्थामा हामी निरास हुनपुग्छौ । छोराछोरीले आफ्नो इच्छा पुरा नगरिदिएकोमा खिन्न हुन्छौ । के यसमा बलबच्चाको गल्ती छ ?
पक्कै छैन । गल्ती त हाम्रो छ । हामीले आफ्नो इच्छा उनीहरुमाथि लादेका छौ । हाम्रो इच्छा र आकंक्षाको भारी बोकाएका छौ ।
बच्चा के बन्न चाहन्छन् ? उनको रुची के छ ? आमाबुवाले बुझ्नैपर्ने कुरा यही हो । बच्चाहरुको आफ्नै रुची हुन्छन् । उनीहरुले जुन कुरामा रुची राख्छन्, त्यसैलाई मलजल गरिदिने काम हाम्रो हो । कुनैपनि क्षेत्र आफैमा कमसल र कमजोर छैनन् । बच्चा एउटा शिक्षक बन्न चाहन्छ, फुटबलर बन्न चाहन्छ, कलाकार बन्न चाहन्छ । यो उनको आफ्नो रुचीका क्षेत्र हुन् । जुन क्षेत्रमा उनीहरुको रुची हुन्छ, त्यही क्षेत्रमा उनीहरुको भविष्य सुनौलो हुन्छ ।
डाक्टर वा पाइलट बन्दैमा, सरकारी जागिर खाँदैमा बच्चाको भविष्य सुरक्षित र उज्वल हुने होइन । उनीहरुले जे गरोस्, त्यसमा तन र मन लगाएर गरोस् । आफुलाई सम्पूर्ण रुपमा त्यही काममा लगाउन सकोस् । तब उनले उन्नती गर्छ । चाहे खेती किसानीमा होस् वा उद्यममा । चाहे कलाकारितामा होस् वा खेलकुदमा ।
हरेक क्षेत्रमा आफ्नै संभावना हुन्छन् । कुनैपनि क्षेत्र सानो वा ठूलो हुँदैन । महान र कमसल हुँदैन । उक्त क्षेत्रमा तपाईं कसरी काम गर्नुहुन्छ ? त्यो चाहि महत्वपूर्ण हो ।
इच्छाको विजारोपण
हुन त बच्चालाई हामी यस्ता कुरा किनपनि सिकाउँछौ भने, उनीहरुले ‘ठूलो हुने लक्ष्य राखिदियोस् ।’ ठूलो, असल वा महान् । यसले गर्दा उनीहरु पथभ्रष्ट हुँदैनन् । लक्ष्य राख्नु पक्कैपनि राम्रो हो । जब उनीहरुले लक्ष्य निर्धारण गर्छन्, तब उनीहरु दायाँ-बायाँ लाग्दैनन् । आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर खटिन्छन् । मेहनत गर्छन् । संघर्ष गर्छन् । यसले उनीहरुलाई लक्ष्य प्राप्तिका लागि संघर्ष गर्न पनि सिकाउँछ ।
तर, लक्ष्य कसरी तय गर्ने ? लक्ष्य निर्धारणका आधार के हुन् भन्ने कुरा अभिभावकलाई थाहा हुनुपर्छ । आमाबुवाले नै बच्चाका लागि लक्ष्य तय गरिदिने होइन । फलानो जस्तो बन भनिदिने होइन ।