☰ open Loading... 15 November 2024|  

विचित्र सत्य घटना
  | २३ बैशाख २०७६, सोमबार १७:५९

–टेलिभिजनको इतिहासमा जे फ्रेड मग्सको नाम उल्लेखनीय छ। मग्स मान्छे होइन, चिम्पान्जी हो। अमेरिकी टेलिभिजन च्यानल एनबीसीमा सबैभन्दा लामो समय चलेको कार्यक्रम हो, ‘टुडे’। सन् १९५२ मा सुरु भएको यो कार्यक्रम समाचार र हास्य प्रस्तुतिको मिश्रण थियो। तर, कार्यक्रम त्यति लोकप्रिय भएन र एक वर्षमै बन्द हुने अवस्था आयो।

यसलाई बचाएको थियो, मग्सले। प्रस्तोता डेभ गारोवेसँग सन् १९५३ मा मग्स चिम्पान्जी मस्कट वा सहप्रस्तोताका रूपमा कार्यक्रममा प्रवेश ग¥यो। त्यसपछि कार्यक्रम साह्रै लोकप्रिय हुन थाल्यो। मग्सका कारण एनबीसीले त्यतिबेला करिब एक करोड डलर आम्दानी गरेको बताइन्छ। सन् १९७५ सम्म ऊ एनबीसीमा देखियो।

–अफ्रिका महादेशमा पर्ने सहारा मरुभूमि संसारको सबैभन्दा ठूलो मरुभूमि हो। तापक्रम अत्यधिक हुने मरुभूमिजस्तो ठाउँमा हिउँ पर्ने कुरा सोच्न पनि सकिन्न। तर, सहारा मरुभूमिमा अहिलेसम्म तीन पटक हिउँ परेको छ। सहाराको प्रवेशद्वार भनिने अइन सेफ्रा नामक शहरमा तीन पटक हिउँ परेको छ। यो अल्जेरियाको दक्षिणी भूभागमा पर्छ।

सहारामा सन् १९७९ मा पहिलो पटक आधा घण्टासम्म हिमआँधी आएको थियो। त्यसपछि सन् २०१६ को डिसेम्बरमा र सन् २०१८ को जनवरीमा पनि त्यहाँ हिउँ परेको थियो।

–सन् १८९१ मा अमेरिकी राष्ट्रपति निवास ह्वाइट हाउसमा पहिलो पटक बिजुली जडान गरियो। तत्कालीन राष्ट्रपति बेन्जामिन ह्यारिसन र उनकी पत्नी क्यारोलिन विद्युतसँग असाध्यै डराउँथे। बत्तीको स्विच थिच्दा करेन्ट लाग्ने भयले उनीहरूले कहिल्यै बत्ती बाल्ने र निभाउने काम गरेनन्। राष्ट्रपति र उनकी पत्नीका लागि स्विच अन र अफ गरिदिन केही कर्मचारी खटिएका हुन्थे।