☰ open Loading... 15 November 2024|  

कर्णाली सरकारले दियो किसानलाई भैंसी
  | २३ बैशाख २०७६, सोमबार १८:५३

सुर्खेत । कर्णाली प्रदेश सरकारले व्यवसायिक किसानहरुलाई भैंसी वितरण गरेको छ । दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी व्यवसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भैंसी वितरण गरेको हो ।


मन्त्रालयले आज बराहताल गाउँपालिका १० ओदानका तालका ४० कृषकलाई एक÷एक वटा भैंसी हस्तान्तरण गरेको हो । कृषकमा आधारित भैंसीपालन व्यवसाय कार्यक्रम अन्तर्गत सुर्खेतका कृषकहरुलाई भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुर्खेतको सहजीकरणमा भैंसी हस्तान्तरण गरिएको हो ।

भूमी व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जनज्योति कृषि तथा पशु सहकारी संस्था ओदानतालका सदस्यहरुलाई भैंसी हस्तान्तरण गर्नुभयो । सहकारीका अध्यक्ष ईश्वरभक्त सुनारले प्रदेश सरकारको रु. ५० लाख, कृषकको रु. १० लाख, वराहताल गाउँपालिकाको रु. ५ लाख र लागत सहभागिताको रु. ५ लाख गरी ७० लाखमा भैंसी खरिद गरेर वितरण गरिएको जानकारी दिनुभयो ।

भैंसी कैलालीबाट खरिद गरि ल्याइएको हो । सहकारीले खरिद गरेका ती भैंसी किसानलाई गोलाप्रथा मार्फत छनौट गरिएको थियो । सहकारीका अध्यक्ष सुनारका अनुसार १५ भैंसी दुहुना छन् । वितरण गरिएका भैंसीको सहकारीले बिमा गरिदिएको छ ।

भैंसी वितरण कार्यक्रममा मन्त्री केसीले किसानको आयआर्जनमा वृद्धि गर्न प्रदेश सरकारले आगामी वर्ष पनि यस्ता कार्यक्रम निरन्तरता दिने बताउनुभयो । भैंसीको स्रोत केन्द्रका रुपमा सुर्खेतलाई विकास गर्नुपर्छ, यसका लागि किसानहरुले व्यवसायिक घाँस खेतीमा जोड दिनुपर्छ, उहाँले भन्नुभयो, आगामी वर्षको बजेट किसानमुखी भएर बजेटको विनियोजन गरिनेछ । सरकारले कृषिमा दिने अनुदान दुरुपयोग नगर्न आग्रह गर्दै भन्नुभयो, भैंसीपालन गरेर आयआर्जन गर्नुस् तर, अनुदानमा पाएका भैंसीलाई बिक्री नगर्नुस ।