☰ open Loading... 15 November 2024|  

जिल्ला समन्वयको डोजर दुई वर्षदेखि अलपत्र
  | ३१ बैशाख २०७६, मंगलवार १७:०१

जाजरकोट । जिल्ला समन्वय समिति जाजरकोटको डोजर २ वर्ष देखि अलपत्र परेको छ । साविकको जिल्ला विकास समितिले आर्थिक वर्ष ०६७/६८ मा डोजरका लागि ८४ लाख ४३ हजार १ सय ५० रुपैयाँ र व्रेकरका लागि २४ लाख ७० हजार ८ सय ८७ रुपैयाँ बजेट विनियोजन गरेर खरिद गरेको डोजर जिल्लाको जुनिचाँदे गाउँपालिका १ काभ्रामा २ वर्षदेखि अलपत्र परेको हो ।

तत्कालीन जिविसबाट संञ्चालन हुने सडक लगायतका भौतिक पूर्वाधार निर्माणमा सहजता हुने भन्दै खरिद गरिएको डोजर समयमा मर्मत नहुँदा प्रयोगविहिन भएको हो । जिल्ला समन्वय समितिका प्रमुख मन बहादुर रावलले डोजर मर्मतसम्भार गर्नका लागि ५/७ लाख बजेट आवश्यक पर्ने बताए ।

समन्वय समितिमा बजेट नहुँदा मर्मत गर्न नसकिएको प्रमुख रावल बताउँछन् । संघीयतापछि जिल्ला समन्वयमा डोजर मर्मत गर्ने बजेट नहुँदा जिल्लाको बारेकोट गाउँपालिकालाई मर्मतसम्भार गरि प्रयोग गर्ने गरि हस्तान्तरण गरिएको प्रमुख रावलको भनाइ छ ।

केहि समय अघि आफ्नो गाउँपालिकालाई डोजर हस्तान्तरण भएको पत्र पाएको भन्दै गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले चालु आर्थिक वर्षमा प्रयाप्त बजेट नभएकोले तत्काल मर्मत गर्न नसकिएको बताए । ‘यस वर्ष बजेट पनि छैन’, अध्यक्ष शाहले भने ‘मर्मत गर्नका लागि कम्पनी मार्फत प्राविधिक बोलाइ बजेटको स्टमेट गरि मर्मत गरेर तत्काल प्रयोगमा ल्याउछौं ।’

सरकारी बजेटमार्फत खरिद गरिएका साधनहरु प्रयोग नहुँदा बजेट दुरुपयोग भएको मानिने सरोकारवालाहरुको भनाइ छ । ‘जिल्लामा आउने विकास बजेटबाट खरिद गरिएको डोजर प्रयोग हुन नसक्नु पनि आर्थिक चुहावट हो ‘ जुनिचाँदे गाउपालिका-१ का भक्तबहादुर सिंहले भने ।