☰ open Loading... 16 November 2024|  

डोल्पामा सडक दुर्घटना बढ्दै
  | ५ जेष्ठ २०७६, आईतवार १९:३७

डोल्पा । हिमाली जिल्ला डोल्पामा पछिल्लो समय सडक दुर्घटनाका घटनाहरु बढ्दै गएका छन् । भर्खरै खुला गरिएको कच्ची सडक सवारी चालकहरुको लापरबाही र सुरक्षा निकायको कमजोर उपस्थितिका कारण सडक दुर्घटना बढ्दै जान थालेको हो ।

डोल्पा सडकको पहुँचमा पुगेसँगै अव्यवस्थित रुपमा जिल्लामा भित्रिएका मोटरसाईकल, जीप तथा ट्रयाक्टरहरु र सिकारु चालकको लापरबाहीका कारण महिनैपिच्छे डोल्पाली सर्वसाधारण सडक दुर्घटनाको शिकार बन्दै आएका छन् । शुक्रबार राति साढे आठ बजे त्रिपुरासुन्दरी नगरपालिका १ त्रिपुराकोट बगरस्थित बजार लाईनमा ठूलीभेरी नगरपालिका ९ मोतिपुरका अन्दाजी २५ वर्षीय सन्जय कठायतलाई रा १ ज ५०१ नम्बरको जीपले किच्दा कठायतको बाँया खुट्टा काम नलाग्नेगरि भाँचिएको छ ।

त्रिपुरासुन्दरी नगरपालिका वडा नं ५ खदाङ्गबाट यात्रु बोकेर त्रिपुराकोट तर्फ आउँदै गरेको अवस्थामा कठायतलाई किचेको प्रहरी चौकी त्रिपुराकोटका नायव निरीक्षक टेकबहादुर देउबाले जानकारी दिए । घाइते कठायतको अवस्था गम्भीर भएपछि शुक्रबार रातिनै उपचारकालागि जिल्ला अस्पताल डोल्पामा लगिएको छ ।

चिकित्सकले डोल्पामा उपचारमा सम्भव नहुने बताउँदै नेपालगन्ज रिफर गरिएपनि पनि आर्थिक अभावका कारण जिल्ला अस्पताल दुनैमा उपचार भइरहेको छ । उपचारमा समस्या भएपछि ब्यापारीहरुले प्रत्येक व्यवसायीबाट चन्दा संकलन सुरु गरेका छन् । घाइते कठायत सुस्तमनस्थितिको भएको र बेवारिसे रुपमा लामो समयदेखि त्रिपुरकोटमा पर्ने बगर बजारमा बस्दै आएका थिए ।

खुट्टाबाट निरन्तर रगत बगिरहेकाले घाइते कठायतको अवस्था गम्भीर भएको त्रिपुराकोट उद्योग वाणिज्य संघका प्रतिनिधि पुर्णकेशर न्यौपानेले बताए । त्रिपुराकोटमा बजारीकरण बढ्दै गएसँगै सडक दुर्घटना, चोरी लगायतका घटना बढ्न थालेपनि प्रहरीले शसक्त रुपमा काम गर्न नसकेको न्यौपानेको भनाई छ ।

घटनामा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै ब्यापारीहरुले त्रिपुरासुन्दरी नगरपालिका बगर बजारमा प्रदर्शन गरेका छन् । जाजरकोट जिल्ला नलगाड नगरपालिका १२ बस्ने जीप चालक महेन्द्र बिष्टलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा पठाइएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । डोल्पा सडक सन्जालमा जोडिएपछि दुई दर्जन भन्दा बढी सडक सवारी दुर्घटना भइसकेका छन् ।