सुर्खेत । ह्विलचियर मार्फत विश्व भ्रमणमा निस्केका ओखलढुङ्गाका तेजबहादुर कार्की भ्रमणका क्रममा सुर्खेत आइपुगेका छन् । विसं २०५७ माघ २३ मा भएको बस दुर्घटनामा परी दुवै खुट्टा गुमाएका कार्की विश्व शान्तिको कामना गर्दै विश्वयात्रामा निस्केका हुन् ।
हुम्ला सम्मको यात्रा तय गरेका कार्किले सोमवार सुर्खेतमा पत्रकार सम्मेलन गर्दै आफ्नो अठोट पुरा गर्ने बताएका छन् । २०६१ जेठ ४ मा यात्रा सुरु गरेका कार्किले हालसम्म नेपालका ६४ जिल्ला भ्रमण गरिसकेका छन् भने अहिले सुर्खेत हुर्दै हुम्ला सम्मको भ्रमण गर्ने तयारीमा जुटेका छन् ।
१३ वर्षे यात्रामा ३४ वटा देश भ्रमण गरिसकेको कार्कीले बताए । ‘विश्व साइकल यात्री पुस्कर शाहको टेलिभिजनमा अन्तवार्ता हेरेपछि मलाई पनि शान्तिको खोजीमा भौँतारिन मन लाग्यो, अनि ओछ्यान छाडी यात्रामा निस्केँ, उनले भने ।
अपांगले पनि सपाङ्ग व्यक्तीले जस्तै काम गर्न सक्छ’ भन्ने भनाईलाई पुष्टि गरेर देखाउनका लागि आफूले पदयात्रा शुरु गरेको कार्कीको भनाइ छ । यसैकारण आफ्नो यात्रालाई ‘विश्वशान्ति ह्विलचियर पदयात्रा’ नाम दिइएको उनको भनाइ छ ।
उनले आफ्नो कठिन यात्रालाई विश्व शान्ति स्थापना तथा नेपाल सरकार अपांग आयोग गठनका लागि दवाव दिन पनि भएको बताए । यद्यपी आफ्नो आवाजलाई सरकारले हालसम्म सम्बोधन गर्न बेवास्ता गरेको कार्कीले गुनासो गरे ।
यात्राका क्रममा राष्ट्र प्रमुखलाई भेट्ने गरेका छन् । अपांग आयोग गठन र अपांग मैत्री संविधानमा उनले जोड दिएका छन् । कार्कीका परिवार काठमाडौंमा बस्छन् । परिवार नजिक भए मायाले बाँध्ने र यात्रामा बाधा आउने उनको बुझाइ छ । त्यसैले घर जाँदैनन् । ’लक्ष्य पूरा भएपछि मात्र परिवारसँग बसौंला,’ उनले भने ।
उदयपुरको कटारीमा २० हजार लुटिएको घटना उनको यात्राको सबैभन्दा दुःखद भएको उनको भनाइ छ । कार्कीको यात्रामा रोटरी ईन्टरनेश्नलकी सिद्धीलक्ष्मी श्रेष्ठ र उनका गाईडर प्रदीप तामाङ रहेका छन् ।