सुर्खेत । वीरेन्द्रनगर १ बाँगेशीमलका चन्द्रप्रसाद जैसी (आचार्य) को हत्या अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी र जिल्ला प्रहरी कार्यालय सुर्खेतको संयुक्त टोलीले तीन महिनापछि जैसी हत्या आरोपित पक्राउ गरेको हो ।
यो पनि पढ्नुहोस् : गुमनाम बन्दै आचार्य हत्या प्रकरण,अनुसन्धानमा प्रहरीको बेवास्ता
पक्राउ पर्नेमा वीरेन्द्रनगर ६ बुद्धपथ नजिकै होटल सञ्चालन गर्दै आएका कृष्ण विष्ट, उनका श्रीमती नन्दकला विष्ट र छोरी विन्दु विष्ट रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डिआईजी महेशविक्रम शाहले जानकारी दिनुभयो ।
उहाँले बैज्ञानिक परीक्षण पोलिग्राफबाट अनुसन्धान गर्दा उनीहरुकै संलग्नता देखिएकाले पक्राउ गरिएको बताउनु भयो । जैसीको किन र के कारणले हत्या भएको भन्ने खुल्न नसकेपनि घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । जैसीको गत फागुन १८ गते वुद्धपथ नजिकैको सडक किनारामा हत्या गरि फालिएको अवस्थामा शव भेटिएको थियो ।