रुकुम: नेपालको राजनीतिक परिवर्तनपछि आएको संघीयताले रुकुम पूर्व नयाँ जिल्लाका रुपमा उभियो। नयाँ संविधानमार्फत् संघीयताले रुकुम पूर्व नयाँ जिल्ला बनेको हो। साबिकको सिंगो रुकुमबाट नयाँ जिल्ला बनेपछि विकास र समृद्धि सपना पनि पलाएका छन्।
एउटै हुँदा बिकट र दुर्गमको परिचय पाएको रुकुम पूर्व नयाँ जिल्ला बनेसँगै राजनीति, विकास, प्रशासन र स्थानीय सरकारको केन्द्रबिन्दु बनेको छ । अझै त्यसको व्यवहारिक कार्यन्वयनको बाँकी छ ।
संरचनागत प्रक्रिया पुरा हुन बाँकी रहे पनि सदियौँदेखि राज्यको सुविधाबाट बञ्चित यहाँका जनताको जीवनशैली माथि उठाउ विकासको गति तीब्र हुनु जरुरी छ।
अभाव र समस्याका चाङ
रुकुम पूर्वमा तीन स्थानीय तह छन् । सिस्ने, भूमे र पुथा उत्तरगंगा यहाँका गाउँपालिका हुन् । जिल्लाका अधिकांशमा ठाउँमा वर्षमा ६ महिना हिमपात हुन्छ । जसले गर्दा यसले हिमाली जिल्लाको परिचय पाएको छ। यहाँको भौगोलिक बनावट, रहनसहन, भेषभुषा, भाषा धर्म पृथक छ।
सडक, सञ्चार, शिक्षा र स्वास्थ्य जस्ता आधारभूत आवश्यकताबाट यहाँका जनता अझै बञ्चित छन् । जिल्लाका अधिकांश ठाउँमा सडक यातायात पुगेको छैन । भएको ठाउँमा पनि बर्षातमा बन्द हुन्छ। सडक बन्द भएपछि पैदलै हिँड्नुपर्ने बाध्यता छ। दैनिक उपभोग्य सामाग्री ओसारपसार गर्ने घोडा खच्चड यहाँका ट्रक र बस हुन्। जिल्लामा मगर समुदायको बाहुल्यता भएकाले घरमाथि घर जोडिएका बस्ती छन्। केही घर एकान्तमा समेत छन् । यसले गर्दा खानेपानीसहितका पूर्वाधारको पनि समस्या छ।
यहाँको अर्को समस्या बेरोजगारी हो। यहाँका अधिकांश युवा रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता छ। पुरुष विदेशिएपछि घरको बागडोर महिलाको काँधमा छ। छोराछोरीको लालनपालन, शिक्षादीक्षा र आयआर्जनका लागि महिला नै खटिनुपर्ने बाध्यता छ। यहाँका करिब ४० प्रतिशत मानिस अझै निरक्षर छन् ।
बालबालिकालाई सामान्य शिक्षा लिन प्रभावकारी शैक्षिक व्यवस्थापन छैन । हालसम्म यहाँ जिल्ला अस्पताल स्थापना हुन सकेको छैन । स्वास्थ्य चौकीमै भर पर्ने अवस्था छ। यहाँ स्वास्थ्यकर्मी पनि लामो समय बस्दैनन्। कृषि उत्पादनका लागि यहाँ पर्याप्त खेतीयोग्य जमिन छैन। एक लाख १३ हजार ५ सय २३ हेक्टर क्षेत्रफलको जिल्लामा २० हजार मात्र खेतीयोग्य जमिन छ । त्यसमा पनि वर्षमा एक पटक मात्र बाली लाग्छ।
यार्साको भर
यहाँका स्थानीयले जडीबुटी बेचेर राम्रो कमाई गरिरहेका छन् । दुर्लभ जडीबुटी यार्सागुम्बा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिकास्थित पाटनमा पाइन्छ। यार्सा टिप्न सजिलो छैन। लामो पैदल यात्रा, कष्टदायक बास र हिमपहिरोसहितका चुनौती छिचोल्नुपर्छ। यति चुनौती चिर्न सक्नेले मात्रै यार्साबाट पैसा हात पर्छ । यही पैसाले वर्षभरिको खर्च जोहो गरिन्छ । रुकुम पूर्वका अधिकांश स्थानीय गरिबीको रेखामुनि छन् । शिक्षाको पहुँच सबै ठाउँमा नपुग्दा चेतनास्तर कम्जोर छ ।
थाहाखबरबाट