☰ open Loading... 15 November 2024|  

दुईवटा ट्रक दुर्घटनामा तीनजनाको मृत्यु, दुईजना घाइते
  | १० जेष्ठ २०७६, शुक्रबार १४:५३

दैलेख: सुर्खेतबाट जुम्लाका लागि हिँडेको मिनी ट्रक दैलेखमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। डुंगेश्वर गाउँपालिका-१ निगालपानी भएको दुर्घटनामा ट्रक सडकबाट ३०० मिटर तल खसेको प्रहरीले बताएको छ। दुर्घटनास्थलमा ट्रक र शवहरू पूरै जलेको अवस्थामा रहेको हुनाले ट्रक नम्बर र मृतकको पहिचान खुल्‍न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका इनस्पेक्टर प्रेमबहादुर क्षत्रीले थाहा खबरलाई जानकारी दिए।
यस्तै, भारतबाट काठमाडौंतर्फ फलफूल बोकेर जाँदै गरेको भारतीय नम्बरको मिनी ट्रक शुक्रबार बिहान त्रिशूली नदी किनारमा खस्दा दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार वीरगञ्ज भएर काठमाडौँ जाँदै गरेको युपी३२एलएन ३८७० नंको भारतीय मिनीट्रक भरतपुर महानगरपालिका– २९ दासढुङ्गा नजिकैबाट त्रिशूली नदी किनारमा खसेको हो।
सडकबाट करीब ६० मिटर तल खस्दा ट्रकका चालक भारत लखनउका ३५ वर्षीय महमद हसन र सहचालक सहिर अली घाइते भएको प्रहरीले जनाएको छ । उनीहरु दुवैको अवस्था सामान्य रहेको छ। उनीहरूको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ। आँप बोकेर काठमाडौँ जाँदै गरेको मिनीट्रक बिहान २:२० बजे अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ।