जुम्ला : यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ। जुम्लाको आग्लो स्थानमा फल्ने धान काली मार्सी धान रोप्न किसानलाइ भ्याइ नभ्याइ भएको हो। अर्कातिर पाकेको जौ भित्र्याउने चटारो पनि छ।
समुद्री सतहदेखि दुई हजार ८५० मिटर उचाइमा रहेको पातारासी गाउँपालिका छुमचौर ज्यूलोमा हरेक वर्ष जेठको मध्यतिर कालीमार्सी धान रोपिन्छ। यो धान फल्ने विश्वकै अग्लो स्थान हो। यहाँका कृषकलाई अहिले जौ काट्ने र मार्सी रोप्ने चटारो छ। बजारमा माग बढेपछि यहाँका किसान मार्सीको क्षेत्र विस्तारतर्फ लागेका छन्।
चिसो मौसमका कारण समयमै धान नरोपे समयमा नपाक्ने भएकाले यहाँ जेठ महिनाको पहिलो साताबाटै रोपाइँ सुरु गरी असार पहिलो सातामा सक्ने गरिन्छ। काली मार्सी धानको बिउ सामान्यतय चैत १२ गते बिउ भिजाउने, १६ गते उतार्ने र २० गते किसानले बेर्ना राखिन्छ। काली मार्सी धान जुम्ला जिल्लाको पहिचान हो।
यो धान कात्तिकको पहिलो सातादेखि दोस्रो सातामा भित्र्याइन्छ। उत्पादन कम हुने भए पनि यसको चामल निकै पोषिलो मानिन्छ।जुम्लामा उन्नत जातको धान लगाउदा बढी उत्पादन हुने र असिना पानीले पनि नझार्ने भएकाले पछिल्लो समयमा किसानहरू उन्नत जातको धान रोप्ने गरेका छन्। सामान्य पानी पर्दा पनि झर्ने भएकाले काली मार्सी धान लगाउने\नलगाउने निर्णय गर्न नसकेको चन्दननाथ नगरपालिका ४ की पूजा भण्डारीले बताइन्।
जिल्लाको धान उत्पादन हुने दुई हजार ९५० हेक्टरमध्ये ४० प्रतिशत क्षेत्रफलमा मात्रै काली मार्सी लगाइएको कृषि कार्यालयको तथ्याङ्क छ। काली मार्सी धानमा रोग धेरै लाग्ने कारण कृषि कार्यालय जुम्लाले पनि किसानलाई मार्सी लगाउन सुझाव दिने गरेको छैनन्। तर कृषि विज्ञहरूले धान जोगाउन सुझाव दिएने गरेका छन्।
पछिल्लो समय अधिकांश किसानले खेतमा उन्नत जातको धान रोप्ने गरेपछि कालिमार्सी धान जोगाउन किसानलाई कृषि विज्ञहरुले सुझाव दिएका हुन्।