डोल्पा : हिमाली जिल्ला डोल्पा र मुगमा बहुमूल्य जडिबुटी यार्सागुम्बाको संकलन पुर्जी वितरण सुरु भएको छ। दुई जिल्लामा शुक्रबारदेखि औपचारिक रुपमा यार्सागुम्बाको संकलन पुर्जी वितरण सुरु गरिएको शे-फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जानकारी दिएको छ। निकुञ्ज क्षेत्रमा पर्ने सुलिगाड, सुम्दुवा, छेप्का, पलम, रिग्मो, साल्दाङ्, धो, त्रिपुराकोट, खालीवन, नाउली, तोइजुम लगायतका १४ वटा स्थानबाट संकलन पुर्जी वितरण भइरहेको छ। त्यसैगरी मुगु जिल्लाका डोल्फु र किम्री पोष्टबाट संकलन पुर्जी वितरण भइरहेको छ। निकुञ्जका कर्मचारी र मध्येवर्ती क्षेत्रका पदाधिकारीहरुले स्थायी तथा अस्थायी चेकपोष्ट खडा गरेर धमाधम संकलन पुर्जी वितरण गरिरहेकाछन्।
संकलन पुर्जी लिनका लागि १६ वटा पोष्टमा दशौँ हजार सर्व साधारणको भीड लागेको निकुञ्का निमित्त संरक्षण अधिकृत प्रमोदकुमार यादवले जानकारी दिए। शुक्रबारदेखि सुरु भएको पुर्जी वितरण एक महिनासम्म जारी हुने भएकाले यस समयमा करोडौँ राजश्व उठ्ने अनुमान गरिएको उनको भनाइ छ। अघिल्लो वर्षभन्दा यसवर्ष तुलनात्मक रुपमा धेरै संकलकहरू जिल्ला बाहिरबाट भित्रिएको अनुमान गरिएको छ। यार्सागुम्बा संकलनकालागि तीन किसिमको संकलन पुर्जी जारी गरिएको छ।
मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणकालागि पाँचसय, मध्यवर्ती क्षेत्र बाहेक जिल्ला भित्रका सर्वसाधारणकालागि दुई हजार र जिल्ला बाहिरका सर्व साधारणकालागि तीन हजार दस्तुर तोकिएको छ। त्यस बाहेक मध्यवर्ती क्षेत्रहरूले सेवा शुल्कको रुपमा छुट्टै पाँचसय लिन पाउने ब्यवस्था गरिएको छ। निकुञ्जले छोडपुर्जी दस्तुरबाफत ३० हजार तोकेकोे छ। पुर्जीको म्याद जेठ १० गतेदेखि असार १० गतेसम्मको एक महिनाको अवधि रहने निकुञ्जले जनाएको छ। निकुञ्जले जेठ १३ गतेदेखि औपचारिक रुपमा जिल्लाका सम्पूर्ण यार्सापाटनहरू खुलाउने निर्णय गरेको छ।