☰ open Loading... 16 November 2024|  

दुर्गमको विद्यालयको विजोग, शिक्षक र अभिभावकको बेवास्ता
  | १३ जेष्ठ २०७६, सोमबार १९:५७

जुम्ला: जुम्लाका ग्रामीण भेगका विद्यालयमा राम्रो व्यवस्थापन नभएकाले विद्यार्थीहरु मध्य दिनमै घर फर्कने गरेका छन्। सिंजा गाउँपालिका–६ रुगागाउँमा रहेको जनज्योति आधारभूत विद्यालय पूर्वाधार अभाव हुँदा पठनपाठनमा समस्या भएको छ। विद्यालयको घेराबार, भौतिक संरचना र फर्निचर राम्रो नहुँदा  समस्या भएको हो। घेराबार नहुँदा विद्यार्थीहरु विद्यालय समयमै विद्यार्थीहरु भागेर घर जाने गरेको शिक्षकहरुको गुनासो छ ।

कक्षामा कोठामा विच्छ्याइएको कार्पेट च्यातिएको छ। भूइँ फोहोरले भरिएको छ। कक्षा कोठामा रहेका डेस्क बेन्च पनि भाँचिएका छन्। प्रधानाध्यापक नरेन्द्र रोकायाले दुर्गमको विद्यालयमा सरोकारवाला निकायको नजर नपुगेकाले विद्यालयको अवस्था नाजुक रहेको बताउँछन्। विद्यालयको अवस्था नाजुक रहेकाले विद्यार्थीको पठनपाठन कमजोर बनेको उनको दाबी छ।

शिक्षकहरु विद्यालयमा नियमित उपस्थित नहुने भएकाले एउटै शिक्षकले कुनै दिन नौ वटा पिरियडसम्म पढाउनु पर्ने अवस्था रहेको अभिभावकहरुको गुनासो छ। शिक्षकहरु आलोपालो गरेर विद्यालय आउने र आए पनि पठनपाठनमा ध्यान नदिने भएकाले मध्य दिनमै विद्यार्थी घर फर्किने गरेको कक्षा ५ की विद्यार्थी क्रिष्मा शाहीले बताइन्।

उनले भनिन्, ‘हामी कक्षा ५ मा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयको नाम समेत राम्रोसँग उच्चारण गर्न आउँदैन्।’ विद्यालयमा नियमति पढाइ नहुने भएकाले आफुखुसी घर फर्कने गरेको कक्षा ५ का छात्रा मुकेश रोकायाले बताए। ११४ जना विद्यार्थी संख्या रहेको उक्त विद्यालयमा चालिस प्रतिशतभन्दा कम विद्यार्थी मात्र उपस्थित हुने गरेका छन्। कक्षा दुईमा चार जना मात्रै विद्यार्थी छन्। अन्य कक्षामा पनि विद्यार्थीको संख्या कम रहेको छ।

विद्यालयमा राम्रो पढाइ नहुने भएकाले रुगागाउँका बालबालिका जुम्ला बजार, सुर्खेत र नेपालगञ्ज गएर पढ्ने गरेका छन्  प्राथमिक तहमा प्रधानाध्यापकसहित तीन जना दरबन्दी, एक जना राहत र निजीतर्फ तीन जना शिक्षक गरी जम्मा सात जना शिक्षक छन्। तर, गणित र अंग्रेजी विषयका मात्रै शिक्षक छन्। अन्य विषयका शिक्षकनै नभएको प्रधानाध्यापक रोकायाले बताए।
थाहाखबरबाट