जाजरकोट : जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा विदामा नबस्न परिपत्र गरिएको छ। यो समय महामारी फैलनसक्ने भएकाले अत्यावश्यक कामबाहेक बिदामा छाड्न नमिल्ने र बिदामा बस्नैपर्ने अवस्था आए वैकल्पिक व्यवस्था गरेर मात्र बिदा स्वीकृति गर्न निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
पटक–पटकका विभिन्न रोगका कारण थलिएको जाजरकोटमा अब यस्ता खालका घटना नहुन् भनेर समयमै सचेत भएको प्रजिअ बस्नेतले जानकारी दिए। तर महामारी फैलिन नदिन जिल्लाका विभिन्न स्थानमा बफर स्टक औषधि राख्नुपर्ने र जिल्लामा स्वास्थ्यकर्मीको टास्क फोर्स (घुम्ती टोली) राख्ने काम भने गरिएको छैन।
स्थानीय सरकारले जनचेतनामूलक कार्यक्रमदेखि पूर्वतयारीका लागि औषधिको कुनै व्यवस्था नगरेको पाइएको छ। सञ्चारमाध्यममा सूचना दिएर जनताको सूचना पाउने अधिकार कुण्ठित गर्दै फेसबुकमा सूचना सम्प्रेषण गरेर दिन कटाउने गरेका स्थानीय तहका कर्मचारीले विकासे योजनाको अनुगमनसमेत आफैँ गर्दै आएका छन्। स्वास्थ्य कार्यालयका स्रोतव्यक्ति कृष्णबहादुर खत्रीले कार्यालय तयारी अवस्थामै रहेको दाबी गरे।
नौ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेको अस्पतालमा एक एमडीजीपी चिकित्सक र अरू मेडिकल अधिकृत मात्र छन्। पहिलेको भन्दा अहिले अस्पतालको मुहार फेरिएको छ। जाजरकोटमा एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य केन्द्र छन्। भौगोलिक रूपमा निकै विकट रहेको जाजरकोटमा ७७ वडा छन्।
सरकारले एक वडा एक स्वास्थ्य संस्था बनाउने नीतिगत निर्णय गरिसकेको भए पनि यहाँ ३५ स्वास्थ्य संस्था छन् भने बाँकी ४२ वडा स्वास्थ्य संस्थाविहीन रहेका छन् । भएका स्वास्थ्य संस्थामा दरबन्दीअनुसार स्वास्थ्यकर्मी नभएको वर्षौँ भएको स्थानीयवासीको गुनासो छ। २०६६ मा जाजरकोटका केही दुर्गम गाउँमा देखिएको झाडापखालाका कारण ५० हजार मानिस प्रभावित भए भने १५३ को ज्यान गयो । २०७१ चैत र २०७२ वैशाखमा पुनः जाजरकोटमै सिजनल फ्लु फैलियो।
यसका कारण २७ को मृत्यु भयो। यसमा पनि पुरानै नियति दोहोरियो। २०७४ माघमा जिल्लाको जुनीचाँदेमा फैलिएको रुघाखोकीबाट १२ को मृत्यु भयो। सयौँ बिरामी परे। मानिस अहिले पनि बिरामी हुँदा स्वास्थ्य संस्था जानुको साटो धामीझाँक्रीकहाँ झारफुक गर्न जाने गरेका छन्। जाजरकोटलाई २०७१ मै खुला दिसामुक्त क्षेत्र घोषणा गरिसकिएको छ।
अधिकांश नागरिक अहिले पनि खुला शौच गर्छन्। बनेका शौचालय पनि दाउरा र पराल राख्न प्रयोग गरिएको पाइएको छ। यहाँका करिब ७५ प्रतिशत मानिसले प्रदूषित पानी पिउने गरेको एक अध्ययनले देखाएको छ। दूषित पानीकै कारण धेरैजसो सरुवा रोग फैलिने गरेको स्वास्थ्यकर्मीको भनाइ छ।
थाहाखबर