☰ open Loading... 26 February 2025|  

डोल्पामा टेलिफोन सेवा अवरुद्ध
  | २९ जेष्ठ २०७६, बुधबार १९:३६

डोल्पा: मंगलबार रातिदेखि अवरुद्ध भएको डोल्पाको टेलिफोन सेवा अझै सञ्चालन हुन सकेको छैन। त्रिपुरासुन्दरी नगरपालिका–२ लइटीडाँडामा रहेको रिपिटर टावरमा खरावी आएपछि टेलिफोन सेवा अवरुद्ध भएको हो।

यस टावरबाट डोल्पाका विभिन्न ठाउँमा रहेका टावरमा रिले गरिँदै आएको टेलिकम कार्यालयले जनाएको थियो। सेवा अवरुद्ध भएपछि सदरमुकाम दुनै र अन्य ठाउँमा टेलिफोन सेवा विच्छेद भएको छ।

सदरमुकाम दुनैबाट बिहानै प्राविधिकको टोली लइटेडाडाँतर्फ गएको नेपाल टेलिकम कार्यालय, डोल्पाले बताएको छ। सदरमुकामबाट टावर भएको स्थानमा पुग्न पाँच घण्टा लाग्ने बताइएको छ।

एक महिनाभित्र डोल्पामा टेलिकमको उक्त टावरमा यो सहित दुई पटक समस्या आएको हो। फोन सेवा अवरुद्ध भएपछि यहाँका सबै ठाउँमा सम्पर्क गर्न समसय भएको प्रमुख जिल्ला अधिकारी मुकेश केशरीले बताए।