सु्र्खेत । महाबु गाउँपालिका–१, दैलेखकी ३० वर्षीया विनिता शर्माका परिवारले उनको उपचारमा सहयोग गर्न सबैसँग याचना गरेका छन् । सात महिनाअघि ब्रेन ट्युमरको शल्यक्रिया गर्दा जग्गाजमीन सकिएको भन्दै थप उपचारका लागि परिवारले याचना गरेका हुन् । शल्यक्रियापछि शर्मा दृष्टिविहीन बनेकी छिन् ।
गलत औषधिका कारण शर्मा दृष्टिविहीन बनेको परिवारको आरोप छ । अहिले उनी टाउको दुख्ने समस्याबाट समेत ग्रसित रहेको पति निरक शर्माले बताए । शर्माका अनुसार २०७५ मंसीरमा सिजी अस्पतालमा विनिताको शल्यक्रिया गरिएको थियो ।
‘शल्यक्रियापछि थप स्वास्थ्य समस्या बल्झियो, उपचार गर्दा करिव १० लाख रुपैयाँ सकियो,’ उनले भने, ‘उपचारमा लागेको ऋण तिर्न सबै जग्गाजमिनसमेत बेच्यौं, अहिले कोठा भाडा लिएर बस्दै आएका छौं ।’ उनले भाडा तिर्ने रकमसमेत आफूहरुसँग नभएको गुनासो गरे । उनीहरुका दुई छोराछोरी छन् ।
टाउको दुखिरहने समस्या भएपछि विनितालाई गत वर्ष दैलेखबाट सुर्खेतको देउती अस्पतालमा उपचारका लागि ल्याइएको थियो । अस्पतालले उपचार नहुने भनेपछि काठमाडौंको सिजी अस्पताल लगिएको हो ।
सिजी अस्पतालमा उनको ब्रेन ट्युमरको शल्यक्रिया गरिएको थियो । थप उपचारको लागि आर्थिक समस्या भएकोले सबैसँग सहयोगको याचना गरिएको शर्माले बताए । उनले उपचारमा प्रदेश सरकार र गाउँपालिकाले सहयोग नगरेको गुनासो गरे । विनिताको उपचारमा सहयोग गर्न इच्छुक व्यक्तिले उनका श्रीमान निरकप्रसाद शर्मालाइ ९८४८१३३३८३ मा सम्पर्क गरेर वा उनकाे नाममा रहेकाे बैंक अफ काठमाडाैंकाे खाता नम्बर 054800000901524 मा रकम जम्मा गर्दिन आग्रह गरिएको छ ।