☰ open Loading... 16 November 2024|  

६ लाख कर्मचारीको तलब बढ्दा ३ करोड जनता महँगीको मारमा
  | १७ असार २०७६, मंगलवार २२:१५

तीन करोड जनसंख्या रहेको नेपालमा जम्मा ६ लाख अर्थात २ प्रतिशत कर्मचारीको तलब सामान्य बढ्दा आकासिएको महँंगीले भने सबैलाई मारमा पारेको छ।

गहुँ पिस्दा घुन पिसिएजस्तै करिब दुई प्रतिशत मात्र कर्मचारीको तलब बढ्दा अन्य ९८ प्रतिशत नागरिकको तलब बृद्धि नभएपनि महँगीको मारमा भने ती कर्मचारी सरह नै पर्ने गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमा कर्मचारीको तलव २० प्रतिशतसम्म बढाएको छ। कर्मचारीको बढेको तलब पाउनु अघि नै बजार भाउ उकालो लागेको छ।

साउनदेखि कर्मचारीको तलब बढ्ने नै भयो। त्यसरी बृद्धि भएको तलबले कर्मचारीको जेनतेन खर्च धान्न सक्ला। तर, जसको तलब बढेको छैन्, उनीहरुले खरिद गर्ने बस्तुको भाउ समेत बढेको छ। यसले तलब बृद्धि नभएका नागरिकको जीवन यापनमा निकै असर पार्ने छ।

व्यवसायीले तलब र बजेट देखाएर सामानको भाउ बढाउने गरेका छन्। सरकारले मूल्य बृद्धि नियन्त्रण नगरेपछि तलब बढेका कर्मचारीले समेत खासै राहत महसुस गर्न सक्दैनन्। निजी क्षेत्रमा काम गर्ने कर्मचारीको तलब वृद्धि नहुँदा उनीहरुलाई अझ मार पर्ने गरेको छ।

तलब बृद्धि सम्बन्धी निर्णयले सर्वसाधारणमा एक प्रकारको वितृष्णा पैदा गर्ने राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताए। ‘सरकारी कर्मचारीको तलब वृद्धिको असर अन्य नागरिकमा पनि परेको छ,’ उनले भने, ‘सरकारले यसको समाधानका बारेमा बेलैमा सोच्नुपर्छ।’

सरकारले आगामी साउनदेखि लागू हुने गरी कर्मचारीको तलव वृद्धि गर्ने निर्णय गरेपनि दैनिक उपभोग्य वस्तुको मूल्य भने पहिलेदेखि नै बढ्न थालेको हो। व्यापारीहरुले पहिलेदेखि नै कर्मचारीको तलव बढेको जस्तोगरी दैनिक उपभोग्य सामग्रीको मूल्य बढाएका छन्।

कर्मचारीको तलब वृद्धिकै अनुपातमा महँगी पनि बढेको छ। कर्मचारीको तलब २० प्रतिशतले बढेको छ, बजार भाउ पनि त्यति नै प्रतिशतले बढेको छ। तरकारी, दाल, चामल, चिनी, तेललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य बढेको छ। दालमा प्रतिकेजी १५ रुपैयाँसम्म, चिनी र तेलमा प्रतिकेजी ५ रुपैयाँसम्म मूल्य बढेको छ। व्यापारीहरुले आटा (पिठो)को मूल्य पनि प्रतिकेजी ५ रुपैयाँले बढाएका छन्।

व्यवसायीले संस्थागत यातायातको ढुवानीमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएको भन्दै केही सामानको मूल्यमा मनलाग्दी वृद्धि गरेका छन्। बजेटमा कर्मचारीको तलब र बृद्ध भत्ता बढाउने सुइको पाएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको मूल्य बढेको उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले बताए। ‘व्यवसायीले ढुवानीको भाडा बढाएको भन्दै बस्तुको मूल्य पनि बढाएका छन्,’ उनले भने, ‘कृत्रिम तरिकाले दैनिक उपभोग गर्ने खाद्यान्नको मूल्य बढाइएको छ।’

बजेटपछि विशेष गरी दाल, चामल, चिनी, तेललगायतका वस्तुको मूल्य बढेको खुद्रा व्यापारीहरु बताउँछन्।
कर्मचारीको तलब, करको दायरा बढेको भन्दै दाल, चामल, चिनी, तेल, तरकारी, फलफूलदेखि खाद्यवस्तुमा समेत मूल्य कृत्रिम तवरले व्यवसायीले बढाएको अध्यक्ष तिमिल्सेनाको भनाइ छ।

‘सरकारी अनुगमन कमजोर हुनुको फाइदा व्यापारीले उठाउँदै आएका छन,’ उनले भने, ‘दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा उपभोक्ता भने मारमा परेका छन्।’ कर्मचारीको तलब र कर वृद्धि गरेसँगै बजारमा पर्याप्त स्टोर रहेका सामानमा पनि व्यापारीले आयातका नाममा बढी मूल्य लिन थालिसकेको बिज्ञहरुको भनाइ छ।

हालै मात्रै अण्डाको भाउ बढेर प्रतिगोटा १२ रुपैयाँ पु¥याइएको छ। प्रतिगोटा १० रुपैयाँमा पाइने अण्डाको भाउ एकाएक बढाइएको हो।

दालमा प्रतिकेजीमै २५ देखि ४० रुपियाँ बढेको तिमल्सिेनाको भनाइ छ। बजेट आउने वित्तिकै तुरुन्त खाद्यान्नमा मूल्य बढाउनुपर्ने कुनै कारण नभएको विज्ञहरुको तर्क छ। बजेटमा आयातित वस्तु र ढुवानीमा कर वृद्धि गरिएकाले यसको असर अझै देखिने उनीहरुको भनाइ छ।

तरकारीको भाउ पनि बढेको छ। कुनै–कुनै तरकारीको भाउ ५५ प्रतिशतभन्दा बढी बढेको छ। बजेटको अघिल्लो दिन प्रतिकेजी १८ रुपैयाँ थोक मूल्यमा पाइने बन्दा (लोकल) आज (मंगलबार) २८ रुपैयाँ पुगेको छ। बन्दा लोकलको भाउ बजेट आउनुअघि भन्दा अहिले ५५.५६ प्रतिशतले बढेको कालीमाटी थोक मूल्य विवरणमा स्पष्ट देखिन्छ।

त्यसैगरी, दोस्रो बढी मूल्य बृद्धि हुनेमा भिन्डी रहेको छ। गत जेठ १४ गते प्रतिकेजी ३८ रुपैयाँ थोक मूल्यमा पाइने भिन्डी ५२ रुपैयाँ भएको छ। भिन्डीको भाउ ३६.८४ प्रतिशतले बढेको छ।

त्यस्तै बजेट अघि प्रतिकेजी एक सय ४५ हरियो रुपैयाँ थोक मूल्यमा पाइने हरियो धनियाँ अहिले एक सय ८५ पुगेको छ। धनियाँको मूल्य २७.५९ प्रतिशतले बढेको छ।

भान्टा लाम्चो, भान्टा डल्लो, बोडी (तने), तितो करेलालगायतका तरकारीको भाउ २० प्रतिशत भन्दा बढीले बढेको छ। बजेट अघि प्रतिकेजी ३८ रुपैयाँ थोक मूल्यमा पाइने भान्टा लाम्चोको मूल्य ४८ रुपैयाँ पुगेको छ। यसैगरी, भान्टा डल्लो प्रतिकेजी ३८ रुपैयाँबाट ४६ रुपैयाँमा आएको छ।

यसैगरी, बोडी (तने) प्रतिकेजी ४२ रुपैयाँबाट ५२ रुपैयाँ र तितेकरेला ४२ बाट ५२ रुपैयाँ पुगेको छ।