युद्धको समय थियो, फ्रान्सका सम्राट नेपोलियन पालमा मस्त सुतिरहेका थिए । यो आधा रातको समय थियो । तब अचानक अंगरक्षकले उठाउँदै भने ‘महाराज, सेनापति तपाईंसँग अहिल्यै भेट गर्न चाहन्छन् ।’ नेपोलियनले कोल्टे फेर्दै भने ‘सोध, के कुरा हो ।’
‘दक्षिणतिरबाट शत्रुको सेनाले हमला गरे । सेनापति अब के गर्ने भन्ने थाहा पाउन चाहन्छन् ।’
नेपोलियन यो ठूलो खबर सुनेर अलिकति पनि विचलित भएनन् । उनले सेनापतिलाई नबोलाई अंरक्षकलाई भने ‘कुनाको बक्सामा ३४ नम्बरको एउटा नक्सा राखिएको छ । त्यो सेनापतिलाई देऊ र भन्नू, उनी बिहान आएर मलाई युद्धको समाचार दिऊन् ।’
त्यो नक्सामा दक्षिणतिरका सेनाले आक्रमण गरे भने जवाफी कारबाही कसरी गर्ने भन्ने देखाइएको थियो । त्यहीअनुसारको युद्ध भयो र नेपोलियनको सेना विजयी भयो ।
भोलिपल्ट सेनापतिले जितको सूचना दिँदै सोधे ‘यति छिट्टै कसरी योजना बनाउनुभयो ? के कुनै देवताले तपाईंको मद्दत गर्छन् ?’ नेपोलियनले जवाफ दिए ‘हो, विचार र दूरदर्शिता नामक दुई देवता सधैं मेरो साथ रहन्छन् । उनैले भविष्यको सम्भावनाप्रति मानिसले पहिलादेखि नै जागृत र सावधान हुनुपर्छ भन्ने सिकाए ।’
| १७ असार २०७६, मंगलवार २२:२३