रुकुम (पश्चिम), पश्चिम रुकुममा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा जिल्ला अदालतमा दर्ता भएका छन् । अदालतको तथ्यांकअनुसार ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदकै छन् । गत आर्थिक वर्षमा जिल्ला अदालतमा दर्ता भएका मुद्दामध्ये सम्बन्धविच्छेदका धेरै भएको जिल्ला अदालतले जनाएको छ । जिल्ला न्यायाधीश आत्मदेव जोशीले ३७ प्रतिशत मुद्दा सम्बन्धविच्छेदका रहेको बताए ।
आर्थिक वर्ष ०७४/७५ मा बाँकी रहेका एक सय १७ र आर्थिक वर्ष ०७५/७६ मा चार सय १२ मुद्दा दर्ता भएका थिए । अदालतमा दर्ता भएका पाँच सय २९ मध्ये एक सय ९६ मुद्दा सम्बन्धविच्छेदका छन् । त्यसमध्ये एक सय ४५ मुद्दा फस्र्योट भएका छन् । पछिल्लो केही वर्षको तथ्यांक हेर्दा पनि सम्बन्धविच्छेदकै मुद्दा बढी रहेको न्यायाधीश जोशीले बताए ।
यसमा बालविवाह प्रमुख कारण रहेको न्यायाधीश जोशीले बताए । ‘जिल्लामा बालविवाहको अवस्था डरलाग्दो छ, यसले पछि गएर सम्बन्धविच्छेदलाई बढवा दिइरहेको छ,’ न्यायाधीश जोशीले भने, ‘वैदेशिक रोजगार पनि जिल्लामा सम्बन्धविच्छेद बढ्नुको कारक तत्वका रूपमा रहेको छ ।’ यसँसगै अशिक्षा, गरिबीले पनि सम्बन्धविच्छेदलाई बढाइरहेको उनको भनाइ छ ।
लक्ष्यभन्दा बढी मुद्दाको फैसला
जिल्ला अदालत गत वर्ष लक्ष्यभन्दा बढी मुद्दामा फैसला गरेको छ । अदालतले अघिल्लो वर्षबाट जिम्मेवारी सरेर आएका र यो वर्ष गरी तीन सय ८० मुद्दा दर्ता हुने अनुमान गरेको थियो । तर, गत वर्ष नयाँ र पुराना गरी पाँच सय २९ मुद्दा दर्ता भएका थिए । त्यसमध्ये तीन सय ४० मुद्दा फस्र्योट भएको अदालतले जनाएको छ । लक्ष्यभन्दा ६६ बढी मुद्दा फस्र्योट भएको न्यायाधीश जोशीले बताए ।