दैलेख, पादुका खोला छेउछाउमा रहेका समथन जमिन जहाँ मलिलो माटो उर्भर खेत छन् । तिन वर्षअघि आएको बाढी त्यही खेत तर्फ पसेपछि बगरमा परिणत भयो । बचेको आधा खेतहरु पनि वर्षेनी बाढीले काट्न थालेपछि चिन्तित थिए । वर्षभरी खानका लागि धान उत्पादन गर्ने खेत नै नहरेपछि किसान निराश थिए । कर्णाली प्रदेश सरकारले खोलामा बाढीबाट खेतहरु जोगाउन तटबन्ध निर्माण गरेपछि किसानहरु राहतको महशुस गरेका छन् । रोपाई गरेपछि बाढीले बगाउने चिन्ताले पिरल्ने गरेका किसानहरु अहिले तटबन्ध बनेपछि ढुक्कले खेतमा रोपाई गरिरहेका छन् ।
यो वर्ष तिन वर्ष पहिले जहाँबाट बाढी खेतमा छिरेको थियो त्यहीबाट तटबन्धको कार्य सुरु भयो । बजेट कम हुँदा जोखिम बढी भएको स्थानमा पादुका खोलमा तटबन्ध गरिएको हो । चामुण्डाविन्द्रासैनीनगरपालिका, दुल्लुनगर पालिका र भैरवी गाउँपालिकाका स्थानीयहरुको खेत रहेको पादुका ज्यूलामा बाढीले सास्ती बेहोर्दै आएका किसानहरुले सरकारले ठुलो लगानीमा तटबन्ध गरेमा पूर्ण रुपमा निर्माण गर्नुपर्ने बताएका छन् । यो वर्ष जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दैलेख मार्फत पादुका खोलामा २० लाख रुपैँयामा तारजाली लगेर तटबन्ध उपभोक्ता आफैले गरेका हुन् ।
आफुहरुले गाउँभरका किसानहरुलाई पारिश्रामिक दिई दुई हप्तामै तटबन्धको काम सकाएको भैरवी गडाज्यूलामा उपभोक्ता समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले बताए । ‘बाढीले ज्यूलाका खेतीयोग्य खेतहरु बगर बनाईदिएको थियो ।’ अध्यक्ष पाण्डेले भने, अहिले बल्ल तटबन्धको योजनाबाट बढी बसेको र अन्य जोखिम रहेको भागमा तटबन्धको काम गरियो ।’
खेतीयोग्य खेतहरु बगर भएपछि यहाँका किसानहरु तटबन्ध निर्माण गरिदिनका लागि दुई वर्षदेखी अपिल गरिरहेका थिए । पादुकामा तटबन्ध बनेसंगै अहिले किसानहरु धेरै लाभ लिएका छन् । बाढीबाट खेतहरु जोगिने भएपछि उल्लासमय रुपमा खेतमा किसानहरुले अहिले रोपाई गरेका हुन् ।
यहाँ तटबन्ध गर्नुपर्ने धेरै ठाउँ रहेको छ तर, बजेट कम हुँदा आवश्यकताका आधारमा प्राविधिकहरुले लाईन दिएको भैरवी गडाज्यूलामा उपभोक्ता समितिका अध्यक्ष रविन्द्रप्रसाद पाण्डेले बताए । बजेट थोरै भएकाले तटबन्ध पूर्ण रुपमा हुन नसकेको डिभिजन प्रमुख गोपाल शर्माले बताए । ‘सामान्य जति बजेट उती स्टेमेन्ट भयो ।’
डिभिजन प्रमुख शर्माले भने, आवश्यक हुँदा हुँदै पनि बजेट नहुँदा बाढी छिर्ने सम्भावित स्थानमा काम गरियो ।’ पादुकाखोलाले खेतहरुमा क्षती धेरै गरेको तर, बजेट कम आउला चुनौती हुने गरेको जनाईएको छ । जिल्लाभर बाढीले क्षति पुराएका खोला आसपास ११ वटा तटबन्धका योजना रहेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय दैलेखले जनाएको छ ।