दैलेख, दैलेखको आठबीस नगरपालिकामा मेयर खड्कराज उपाध्याय र उपमेयर दीपा बोहराबीच विवाद उत्पन्न भएको छ । उपमेयरका पक्षमा रहेका चार वडाध्यक्षले विरोध जनाउँदै वडा कार्यालयका छाप फिर्ता गरेका छन् । सोमबार उपमेयरको पक्षमा रहेका चार वडाका वडाध्यक्षले मेयर उपाध्यायलाई छाप बुझाउँदै विरोध जनाएका छन् ।
वडा नं. ६ का वडाध्यक्ष धीरबहादुर शाही, वडा नं. ७ का वडाध्यक्ष चक्रबहादुर शाही, वडा नं. २ का वडाध्यक्ष पूर्णप्रसाद खनाल र वडा नं. ८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायले कार्यालयको छाप मेयरलाई बुझाएका हुन् । मेयरले एकलौटी रूपमा काम गरिरहेकाले वडा कार्यालयको छाप बुझाउनुपरेको उनीहरूले बताएका छन् ।
मेयरले विकास निर्माणमा एकलौटी गरेको, डिपिआर र अन्य अध्ययनका काममा प्रशासकीय अधिकृतसँगको मिलोमतोमा गोप्य रूपमा टेन्डर निकालेर लाखौँ रकम अपचलन गरेको, कर्मचारी नियुक्ति मनमर्जी गरेको उनीहरूको आरोप छ । विकास निर्माणमा बेथिति बढिरहँदा पनि मेयर चुप लागेर बसेको उनीहरूको भनाइ छ ।
सुशासन समितिको सदस्यसमेत रहेका आठबीस–८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायले अहिलेसम्म विकासमा कति खर्च भयो भन्ने जानकारीसमेत नपाएको गुनासो गरेका छन् । औषधि खरिद प्रक्रियामा समेत जानकारी नदिएको उनको भनाइ छ । वडाध्यक्षले समेत नगरपालिकाको विकासको जानकारी लिन नपाउने अवस्था आएपछि बाध्य भएर छाप बुझाएको उनले बताए ।
विद्युत् लाइन विस्तार, अस्पताल निर्माण, -याफ्टिङ सञ्चालन, कोल्ड स्टोर बनाउनेलगायत काममा आफन्तलाई ठेक्का दिएको उनीहरूको आरोप छ । गोप्य रूपमा सूचना प्रकाशित गरेर कमिसनका भरमा ठेक्का दिएको समेत उनीहरूले मेयरलाई आरोप लगाएका छन् । यसमा सम्बन्धी वडाध्यक्षलाई समेत जानकारी नदिएको उनीहरूद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
उपमेयर र चार वडाध्यक्षले विरोध गरे पनि बहुमतका आधारमा चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट पारित गरिएको छ । शनिबार नगरसभा आयोजना गरेर बजेट पारित गरिएको हो । बहुमतका आधारमा बजेट पारित गरिएको मेयर उपाध्यायले बताए ।
यस्तो छ विवाद
मेयर र उपमेयर पक्षबीच यसअघि पनि विवाद हुँदै आएको छ । फरक–फरक पार्टीका भएकाले सुरुवातदेखि नै विवाद भएको नगरपालिका कर्मचारी बताउँछन् । मेयर उपाध्यक्ष नेकपाबाट र उपमेयर बोहरा कांग्रेसबाट विजयी भएकी हुन् । मेयरलाई नेपाल मजदुर किसान पार्टीबाट निर्वाचित सदस्यले साथ दिएका छन् । कांग्रेसबाट विजयी चार वडाध्यक्षले उपमेयरलाई साथ दिएका छन् ।
मेयर र उपमेयर दलगत रूपमा विभाजित हुँदै आएपछि विवाद भएको अन्य जनप्रतिनिधिको भनाइ छ । विवादबीच दुई महिनाअघि कार्यपालिका बैठकमा उपमेयरले माइन्युट नै च्यातेकी थिइन् । त्यसविरुद्ध मेयरले प्रहरी र जिल्ला प्रशासनका कार्यालयमा उजुरीसमेत दिएका थिए । विवाद मिलाउन जिल्ला समन्वय समितिका संयोजक प्रेमबहादुर थापाले पहिला गरेका थिए । उनको पहलमा जिल्ला प्रशासन कार्यालयमा भएको छलफलपछि त्यति वेला विवाद सुल्झिएको थियो । फेरि अहिले मेयर र उपमेयरबीच विवाद सुरु भएको हो ।
गलत गरिएको भेटिए कारबाही भोग्न तयार छु : मेयर उपाध्याय
विवाद धेरै ठूलो होइन, तर यसलाई धेरै ठूलो बनाइएको छ । बालविकास केन्द्र जहाँ छ, त्यहीँ हुनुप-यो भन्नुभयो, तर नगरसभाले अनुमोदन गर्ने वेलामा बोल्नु भएन । वर्षौंदेखि करार सेवामा काम गरिरहेका कर्मचारीलाई हटाउने कुरा भएन, त्यसैले पुनः विज्ञापन गरिएन । स्वास्थ्य इन्चार्जले औषधि खरिद गरेका हुन् । प्रत्येक स्वास्थ्य चौकीमा गएर बुझ्दा हुन्छ । कुनै गलत गरिएको छैन, कसैले गल्ती गरेको भए कारबाही हुन्छ । जनताको काम गर्न निर्वाचित भएको हुँ, काम गर्छु । गलत गरेको छैन । काम गर्दागर्दै कहीँकतै गल्ती भए माफी माग्न तयार छु । सबै कामको छानबिन गर्नुहोस्, गलत गरिएको भए कारबाही भोग्न तयार छु । म चुप लागेर बस्दिनँ, काम गर्छु ।
नगरपालिकाभित्रै सुशासन छैन : उपमेयर बोहरा
नगरपालिका कर्मचारी, निर्वाचित जनप्रतिनिधि जनताप्रति जिम्मेवार भएर काम गर्नुपर्छ भनेर मैले निर्वाचित भएदेखि नै कुरा उठाउँदै आएकी छु । नगरको निर्णय प्रक्रियामा सबै जनप्रतिनिधिको सहभागिता हुनुपर्छ भन्ने मेरो भनाइ रहँदै आएको छ । तर, बहुमतका नाममा एकलौटी निर्णय गर्ने, अनियमितता गर्ने, विकासमा लापरबाही गर्ने, मनपरी रूपमा कर्मचारी भर्ना गर्ने काम मेयरबाट हुँदै आएका छन् ।
बजेटमा नभएका योजनामा खर्च गरिएको छ । फरक पार्टीकै भएकाले वडाध्यक्षसँग समन्वय गरिएको छैन । अनुगमनमा जाँदा लथालिंग अवस्था देखेँ । योजनाको काम बिग्रेको छ, काम भएको छैन । तर, मैले सिफारिस नगर्दा पनि भुक्तानी भएको छ । त्यसैले अनियमितता रोक्न, सुशासन कायम गर्न विरोध गर्नुपरेको हो ।