कालिकाेट, यार्सागुम्बा संकलन गर्न पाटन पुगेका डोल्पाको त्रिपुरासुन्दरी गाउँपालिकाका म्याम्बो लामाले यसपटक सन्तुष्ट भएनन् । पहिले जहाँ सजिलै यार्सागुम्बा पाउँथे, त्यहाँ एउटा पनि भेटेनन् ।
११ वर्षदेखि संकलन गर्दै आएका उनले पाटनहरूमा यार्सा पाइन छाडेको बताए । ‘पहिले पाटनमा प्रशस्तै यार्सागुम्बा पाइन्थ्यो । अहिले त घटेको छ । पहिले पाइने पाटनमा अहिले पाउन कठिन भएको छ,’ उनले भने । उनका अनुसार कर्णालीका उच्च हिमाली क्षेत्रका रिमार, कोइकी, हाङदाङ खोला, छापाखोला, दोल्फु, टाकेलगायत पाटनमा यार्सागुम्बा घटेको छ ।
अन्य संकलकले पनि यार्सागुम्बा कम हुँदै गएको बताए । जुन पाटनमा सहजै पाइन्थ्यो, ती पाटनमा पाइन छोडेको उनीहरूको भनाइ छ । अब उचाइ चढ्नुपर्छ । केही वर्षदेखि यार्तागुम्बा कम हुँदै गएको मुगुको मुगुम कार्मारोङ गाउँपालिका–२ का वडाध्यक्ष कार्मा तामाङले बताए । ‘यार्सागुम्बा धेरै पाइने पाटनहरूमा यस वर्ष पाइँदै पाइएन्,’ अध्यक्ष तामाङले भने, ‘यार्सागुम्बाको दोहन मात्रै भयो, संरक्षण हुन सकेन ।’
यार्सामात्रै होइन, चिराइतो, कटुकी, पाँचऔँलेलगायत जडीबटी कम हुँदै गएको स्थानीय बासिन्दाको भनाइ छ । हिमाली तथा उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटी अनियन्त्रित रूपमा संकलन हुँदा नासिँदै गएको यसमा संलग्न जुम्लाका नरबहादुर बुढाले बताए । जडीबुटी आयआर्जनको प्रमुख स्रोत रहेको कर्णालीको उत्तरी क्षेत्रका बासिन्दाका लागि नासिँदै जाँदा संकट उत्पन्न हुने उनको भनाइ छ । ‘रोजगारीमा नगई जडीबुटीबाट मात्रै एक परिवारले वर्षमा तीन लाखसम्म कमाउथे,’ बुढाले भने, ‘व्यवस्थित रूपमा जडीबुटी संकलन नहँुदा बर्सेनि उत्पादन घट्दै गएको छ ।’
कर्णालीको कालिकोटलगायत हुम्ला, डोल्पा, जुम्ला र मुगुको जंगल तथा हिमाली क्षेत्रमा विभिन्न प्रजातिका जडीबुटी पाइन्छन् । तर, त्यसको अनियन्त्रित दोहनले नासिँदै गएको छ । संरक्षण नहुँदा कतिपय जडीबुटी पाउन मुस्किल भएको स्थानीय बासिन्दा बताउँछन् ।
जडीबुटीको जथाभावी दोहन र निकासी हुँदा केही स्थानीय तहले संकलनमा रोक पनि लगाएको छ । कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका अध्यक्ष डम्बरबहादुर शाहीले सबै स्थानीय तहले रोक लगाउनुपर्ने बताए । जडीबुटी नासिँदै गएको उल्लेख गर्दै उनले यसको संरक्षणका लागि पनि निश्चित अवधिका रोक लगाउनुपर्ने उनको भनाइ छ ।
संकलकबाट सस्तोमा खरिद
जिल्लामा पाइने जडीबुटीबाट व्यापारीलाई फाइदा भए पनि स्थानीय संकलनकर्तालाई पनि घाटा भइरहेको छ । जडीबुटी संकलनमा गरेको परिश्रमअनुसार मोल नदिने गरेको स्थानीय बासिन्दाको भनाइ छ । स्थानीय संकलनकर्ताले थोरै पैसामा जडीबुटी बिक्री गर्ने गरेको नरहरिनाथ गाउँपालिका–९ लालुका रानीवन उपभोक्ता समितिका अध्यक्ष कालो सार्कीले बताए । ‘व्यापारीले सस्तोमा खरिद गर्छन् । न संकलकलाई फाइदा हुन्छ न राज्यलाई नै,’ उनले भने ।
चिराइतो, सतुवाको बजार मूल्य प्रतिकिलो एक हजार पाँच सयभन्दा बढी छ । तर, व्यापारीहरू स्थानीय संकलकबाट पाँच सयमा खरिद गर्दै आएको नरहरिनाथ–५ रुप्साका जडीबुटी संकलक रामबहादुर बोगटीले बताए । ‘सस्तोमा नदिए व्यापारीले जडीबुटी नै किन्दैनन् । त्यत्तिकै कुहिनुभन्दा त जावस् भन्ने हुन्छ,’ उनले भने ।
जडीबुटीको अवैध निकासी
कर्णालीमा संकलन हुने जडीबुटी पनि अवैध रूपमा निकासी हुने गरेको छ । राजस्व छलेर व्यवसायीले निकासी गर्ने गरेको स्थानीय व्यवसायीको भनाइ छ । जिल्लाबाट बाहिरिने जडीबुटीमा जिल्ला वन कार्यालयले कर लिन कडाइ नगरेको उनीहरूको आरोप छ ।
‘जिल्ला वन कार्यालयले जडीबुटी व्यापारीलाई बिक्री पूर्जी र कर लिने अधिकार भए पनि उचित कदम चालेको छैन,’ कालिकोट उद्योग वाणिज्य संघका अध्यक्ष सूर्यबहादुर शाहीले भने, ‘राजस्व नलिँदा राज्यलाई घाटा भइरहेको छ । केही व्यापारीले निर्वाध रूपमा जडीबुटी निकासी गरिहेका छन् ।’
नयाँपत्रिकाबाट