☰ open Loading... 20 April 2024|  

चल्यो त्रिशुली थ्री ‘ए’, ११ वर्षपछि राष्ट्रिय प्रणालीमा ठूलो आयोजना
  | १८ श्रावण २०७६, शनिबार १७:३३

काठमाडौं । माथिल्लो त्रिशुली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सकिएको छ । आयोजनाको दोस्रो युनिटको विद्युत् पनि राष्ट्रिय प्रणालीमा जोडिएपछि आयोजनाले पूर्णता पाएको हो ।

३० मेगावाट पहिलो युनिटले २ जेठबाटै उत्पादन थालेको थियो । आयोजनाको दोस्रो युनिटको पनि बुधबारबाट लगातार ७२ घन्टे परीक्षण पनि सफल भएको छ ।

यससँगै २०६५मा मध्यमस्याङ्दीपछि सबैभन्दा ठूलो आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

घिसिङले नुवाकोटको किस्पाङ ५ सिम्लेस्थित स्विचयार्डको कन्ट्रोल रुममा पुगेर आयोजनाको निर्माण सकिएको घोषणा गरे ।

यद्यपि आयोजनाको दोस्रो युनिट अहिले पनि परीक्षण उत्पादनकै क्रममा छ । परीक्षण उत्पादन सफल सकिपछि व्यवसायिक उत्पादन सुरु हुनेछ ।

पहिलो युनिटले उत्पादन थालेयता यो आयोजनाबाट हालसम्म २ करोड २० लाख युनिट विजुली उत्पादन भइसकेको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए । यसअनुसार यो आयोजनाबाट प्राधिकरणले अढाई महिनामै २२ करोड रुपैयाँ बराबरको विजुली उत्पादन गरेको छ ।

यो आयोजनाले दिनमा १४ लाख ४० हजार युनिट विजुली उत्पादन गर्न सक्ने प्राधिकरणले जनाएको छ ।

आगामी अगस्टसम्म आयोजनाको संरचनाको उपकरणहरुको परफर्मेन्स तथा इफिसियन्सी परीक्षण गरिसक्न प्राधिकरणले ठेकेदार कम्पनीलाई निर्देशन दिएको छ । त्यसपछि मात्रै निर्माण कम्पनीले टेकिङओभर सर्टिफिकेट पाउनेछ ।

आयोजनाबाट उत्पादित विजुली सिम्लेमा रहेको विद्युत्गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाडौंको मातातीर्थस्थित सबस्टेसनमा जोडिएको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए संचालनमा आएपछि भारतबाट आयात भइरहेको विद्युत्को परिमाण घट्ने बताए । ‘लोड सेन्टर (काठमाडौं उपत्यका)बाट नजिक रहेको र हिउँदमासमेत करिब ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’, घिसिङले भने, ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्नेछ ।’

आयोजनाबाट मुलकभित्र खपत हुने ऊर्जामा करिब ८ प्रतिशत यो दिनेछ । यसबाट मुख्यरुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङको भनाइ छ ।

आयोजनाले काठमाडौंको मातातीर्थसम्म २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशुली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधारसमेत तयार भएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सिजिजिसी)सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी -(सिडब्लुई)ले पाएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४)भित्रमा निर्माण सक्ने गरी सिजिजिसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णय लगायतका कारणले आयोजनाको निर्माण ढिलाई भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै प्रभावित भएको थियो ।

घिसिङले अब मुख्य आयोजना निर्माणको सबै अन्योल सकिएकाले कुलेखानी-३ सञ्चालानमा ल्याएपछि प्राधिकरणले सोझै आयोजना नबनाउने बताउँछन् । ‘अब प्राधिकरणले बनाउने सबै आयोजना अब सहायक कम्पनीमार्फत निर्माण हुनेछन्,’ उनले भने, ‘यसो भएमा आयोजना समयमै सकिने मात्रै नभएर अन्योलमा फसेर अत्यधिक लागत बढ्ने समस्या पनि हल हुन्छ ।’