☰ open Loading... 15 November 2024|  

पहिरोले कर्णाली राजमार्ग अस्तव्यस्त
  | १९ श्रावण २०७६, आईतवार १८:१४

वर्षायाम सुरु भएसँगै कर्णाली राजमार्ग अस्तव्यस्त बनेको छ । ठाउँठाउँमा गएका पहिरोले राजमार्ग अवरुद्ध हुँदा यात्रुले सास्ती खेप्नुपरेको छ ।

कालेखोला पहिरोले चार दिन अवरुद्ध भएको राजमार्ग खुलेसँगै फेरि ठाउँठाउँमा पहिरो गएको छ । शुक्रबार तिलागुफा नगरपालिका–८ तलिवन र खाँडाचक्र नगरपालिका–१० चौखोलामा पहिरो गएको छ । दुवै ठाउँमा गएको पहिरोले राजमार्ग अवरुद्ध भएको छ ।

शुक्रबार राति कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकखण्डअन्तर्गत कालिकोटको तलिवन र चौखोलामा गएको पहिरो सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, कालिकोटका प्रहरी निरीक्षक देवेन्द्रकुमार मल्लले बताए । उनले चौखोलामा सानो भए पनि तलीवनमा ठूलो पहिरो गएको बताए । प्रहरी र सडक डिभिजन कार्यालयको टोलीले पहिरो पन्छाउन थालेको जनाएको छ ।

त्यस्तै, कर्णाली राजमार्गका विभिन्न स्थानमा गएका पहिरोले पनि सास्ती भएको छ । राजमार्गको घट्टेखोला, दहीखोला, गगनेखोला, कालेखोला, सुनारखोला, मोल्फा बजार, पिली, चौखोला, खल्लागाड, तलीवनलगायतका दर्जनौँ ठाउँमा पहिरोले सडक अवरुद्ध हुँदै आएको जिल्ला प्रहरी डिएसपी विनोद शर्माले बताए ।

ग्रामीण सडकले राजमार्गमा जोखिम
कर्णाली राजमागसँग जोडेर ग्रामीण सडक निर्माण गर्दा पहिरोको जोखिम बढेको जनाएको छ । जसले गर्दा ठाउँठाउँमा पहिरो जाने गरेको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महताराले बताए । ‘कर्णाली राजमार्गलाई प्रभावित हुने गरी स्थानीय तहले गाउँ–गाउँ जाने सडक निर्माण गरेकाले पहिरोको जोखिम बढेको छ,’ महताराले भने ।

अहिले पनि जुम्ला र कालिकोटमा राजमार्गलाई प्रभावित हुने गरी एक दर्जनभन्दा बढी सडक निर्माण भइरहेका छन् । सडक डिभिजन कार्यालयका अनुसार, खाँडाचक्र नगरपालिकाको ताडीबजारदेखि तिला कर्णाली बहुमुखी क्याम्पस जाने सडक, थानकोटदेखि बद्रीगाँउ जाने सडक, पोरीपाल्नीदेखि भर्ता जाने सडक, सुनार खोलादेखि ताडी जाने सडक, दाँहाँदेखि पिली जाने सडक, दाँहाँदेखि चुलीमालिका जाने सडक, पिलीदेखि पाखा जाने सडक निर्माण भइरहेका छन् । ती सडकले ढुंगामाटो फाल्दा गाडी चलाउनै सकस भएको छ ।

ठूला गाडीले पनि समस्या
ठूला गाडीका कारण पनि कर्णाली राजमार्गमा समस्या भएको छ । एक लेनको सडकमा केही वर्षदेखि १० चक्के मालवाहक गाडीसमेत गुडिरहेका छन् । साँघुरो सडकमा ठूला गाडीको ओहोरदोहोरले पनि सास्ती भएको जनाएको छ । सडकले भार थेग्न नसक्दा पहिरोको समस्या भएको सडक डिभिजन कार्यालयले जनाएको छ ।

नयाँपत्रिकाबाट