चौरजहारी नगरपालिकाले डिजिटल प्रोफाइल तयार पारेको छ । नगरपालिकाले नगरको समग्र चित्र वर्णन हुने गरी प्रोफाइल निर्माण गरेको हो । प्रोफाइलमा नगरपालिकाको समग्र वस्तुस्थितिबारे जानकारी पाउन सकिने नगरपालिकाले जनाएको छ ।
नगर तथा वडाको जनसंख्या, घरधुरी संख्या, पुरुष घरमूली, महिला घरमूली, बस्ती संख्या, नगरको क्षेत्रफल, नगरवासीको मुख्य भाषा, धर्म, संस्कृति, सरकारी, गैरसरकारी तथा निजी क्षेत्र, नगरवासीको औसत आय, खर्च, रोजगारी, वैदेशिक रोजगारीलगायत सम्पूर्ण विवरण प्रोफाइलमा हेर्न सकिने नगरप्रमुख विशाल शर्माले जानकारी दिए । साथै, नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाट दैनिक हुने कार्य सम्पादनको विवरण दैनिक अपडेट हुने व्यवस्थासमेत मिलाइएको उनले जानकारी दिए ।
नगरको समग्र विकासका लागि नगरको अवस्था के हो र केको आवश्यकता छ भनेर पत्ता लगाउन जरुरी रहेकाले समग्र विवरण संकलन गरेर त्यसलाई डिजिटल रूपमा लिपिबद्ध गरिएको उनको भनाइ छ । नगरपालिकाको जनसंख्या कति छ, घरधुरी कति छन्, रोजगारीको अवस्था कस्तो छ, यहाँको आवश्यकता के हो भनेर थाहा नहुँदा काम गर्न अप्ठ्यारो भइरहेकाले डिजिटल प्रोफाइल तयार गर्नुपरेको उनले बताए ।
‘अब योजना निर्माणदेखि कार्यान्वयन तथा अन्य निकायमा योजना माग गर्दा पनि नगरपालिकाको तथ्यगत विवरण पेस गर्न सकिने र यसले काम गर्न सजिलो हुने अपेक्षा गरेका छौँ,’ नगरप्रमुख शर्माले भने, । कुनै गैरसरकारी तथा निजी संस्थाबाट कुनै काम हुन खोजे पनि नगरको समग्र अवस्था के हो भनेर उनीहरूलाई भन्न नसकिने अवस्था पनि अब अन्त्य हुने उनको विश्वास छ । सिंगो नगरपालिका मात्र नभई वडाका पनि टोल–टोलका स–साना कुराको विवरणसमेत प्रोफाइलमा रहेको उनले बताए ।
दैनिक प्रगति डिजिटल प्रोफाइलमा
नगरपालिकाले डिजिटल प्रोफाइल निर्माणलाई प्रभावकारी सेवाप्रवाहसँग जोडेको छ । अब नगरपालिकाको कार्यालय तथा नगरका कुन वडाबाट दिनभरिमा के काम भए भनेर सजिलै हेर्न सकिने नगरप्रमुख शर्माले बताए । नगर तथा वडाबाट प्रवाह हुनुपर्ने सेवा सजिलै नपाइरहेको सेवाग्राहीबाट वेलावेलामा गुनासो आइरहेको अवस्थामा अब नगरपालिका र वडा कार्यालयले दिनभरिमा के काम गरे भनेर आफूले सजिलै निगरानी गर्न सक्ने उनको भनाइ छ । ‘यसअघि कुन वडाको कार्यप्रगति कस्तो रह्यो भनेर थाहा पाउन महिनादिन कुनुपथ्र्यो र त्यो पनि भनेको वेलामा नगरमा प्राप्त हुने अवस्था थिएन, अब डिजिटल प्रोफाइलमा सिफारिस, दर्ता, राजस्व संकलनलगायत दैनिक कार्यप्रगति अपडेट हुन्छ,’ उनले भने ।