जाजरकोट : भैँसी संरक्षण गरिरहेको नलगाड नगरपालिकाबाटै भैँसीको बिक्री वितरण सुरु भएको छ। बिक्री वितरणमा समेत रोक लगाउँदै आएको नलगाड नगरपालिकाले त्यहाँकै पशुपंछी शाखाको सिफासिसमा भैँसीको बिक्री वितरण सुरु भएपछि जिल्ला प्रशासन कार्यालयले रोकेको छ।
जिल्लामा भैँसी लोप हुँन लागेको भन्दै विशेष योजना ल्याएर संरक्षणमा जोड दिएकै बेला नलगाड नगरपालिकाकै पशु शाखाले नगरको नीतिलाई कुल्चिदै सिफारिस दिएपछि भैँसी बिक्री वितरण सुरु भएको हो। नलगाडबाट खरिद गरेर ल्याएका ८ वटा भैँसी र २ राँगा जिल्ला प्रशासनको निर्देशनमा जिल्ला प्रहरी कार्यालयले जाजरकोटले रोकेको छ। भैँसीको स्वास्थ्य परीक्षणसमेत नगरेरै नेपालगन्ज लैजान लागिएको फेला परेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए।
भेरी नगरपालिका-२ का विष्णुजंग शाहले नलगाड नगरपालिकाबाट भैँसी खरिद गरेर ल्याएका थिए। उता नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले भने, ‘हामीले भैँसी विक्री वितरण कार्य रोकेका छौँ, यो कसरी भयो? मैले योभन्दा अघि दुईपटक भैँसी बिक्री हुँन लागेको थाह पाएर रोकेको हुँ, फेरि उही कुरा दोहोरियो’ भेरी नगरपालिकाले समेत भैँसी लोप हुँन लागेको भन्दै पोहोर साल नै बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो। नगरले रोकेको कामलाई कुल्चिदै अर्को शाखाले सिफारिस दिँदा नगरपालिकाको काम गर्ने तरिकामाथि प्रश्न उठेको उनले बताए।
थाहाखबरबाट