☰ open Loading... 16 November 2024|  

मन्दिरको ६ रोपनी जग्गा कब्जा
  | १ भाद्र २०७६, आईतवार १७:३७

सल्यान : विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सल्यानले खैरावाङ मन्दिरको जग्गा कब्जा गरेको छ। जिल्लाको छत्रेश्वरी गाउँपालिका-६ लान्तिमा रहेको ६ रोपनी जग्गा कब्जामा लिएको हो। जनपरिषदले जग्गामा भएको स्थानमा ब्यानर राखेर जनयुद्धको क्रममा तत्कालीन नेकपा माओवादीले कव्जामा लिएका घरजग्गा पुनः जनपरिषदले कव्जामा लिएको उल्लेख गरिएको छ।

ब्यानरमा आजका मितिदेखि जनपरिषदले पुन:  नियन्त्रणमा लिएको उल्लेख गरिएको छ। नियन्त्रणमा लिएको जग्गा जमिन कोही कसैले बिक्री वितरण गरेमा कारबाही गरिनेसमेत चेतावनी दिइएको छ। नेकपा सल्यानका जिल्ला सेक्रेटरी लोकपाल केसीले पहिलो चरणमा खैरावाङ मन्दिरको जग्गा कब्‍जा गरिएको बताएका छन्।

जनयुद्धमा कव्जा गरिएका घरजग्गा थुप्रै भएको बताउँदै ती सम्पूर्ण नियन्त्रणमा लिइने बताए। कव्जा गरिएको मन्दिरको जग्गा वार्षिक १३ हजार भाडामा स्थानीयले खेतीपाती गर्दै आइरहेका छन्।