मुगु, गमगाढ साना जलविद्युत् आयोजनाको मूलमा रहेको इन्टेक खोलाले बगाएपछि सदरमुकाम गमगढीलगायत आसपासका बस्ती तीन दिनदेखि अन्धकार छन् । शनिबार दिउँसो परेको भारी वर्षापछि खोलामा आएको बाढीले आयोजनाको इन्टेक बगाएपछि बिजुली उत्पादन बन्द भएको छ । क्यानलमा पानी प्रवेश हुने मुख्य गेटसमेत भाँचिएको छ । बिजुली नभएपछि शनिबारदेखि सदरमुकाममा रहेका सरकारी तथा गैरसरकारी कार्यालयका दैनिक कामकाज प्रभावित भएका छन् ।
खोलामा पानीको बहाव नघटेकाले इन्टेकको अवस्था अझै राम्रोसँग हेर्नसमेत नपाएको गमगाढ साना जलविद्युत् कार्यालयले जनाएको छ । अवस्था हेरेर बाहिरबाट प्राविधिक बोलाउनुपर्ने हुन सक्ने कार्यालयका प्राविधिक हेमन्त केसीले बताए । सामान्य अवस्थामा बगाएको इन्टेक र क्यानलको गेट बनाउन १० देखि १५ दिनसम्म लाग्न सक्ने उनको भनाइ छ ।
शनिबारको बाढीले छायानाथ रारा नगरपालिका विभिन्न बस्तीमा रहेका १० वटा काठेपुल, सातवटा पानीघट्ट, सयौँ रोपनी धानखेत बगरमा परिणत भएको स्थानीयको भनाइ छ । बाढीका कारण २२ सय घरपरिवार प्रभावित भएका छन् ।
बिजुली नहुँदा जिल्ला अस्पताल मुगुमा बिरामीको उपचारमा समस्या उत्पन्न भएको छ । विद्युत् अभावमा एक्सरे, भिडियो एक्सरे, सुत्केरी सेवा, नियोनेटल कियरका सेवासमेत प्रभावित भएका छन् । जिल्ला अस्पतालका निमित्त प्रमुख डा. डबलबहादुर मल्लले आकस्मिक तथा सामान्य सबैखाले बिरामीलाई सेवा दिन समस्या भएको जानकारी दिए । रातिको समयमा आउने आकस्मिक सेवा बिरामी र प्रसूति गराउन महिलाको उपचारमा थप समस्या भएको उनले बताए ।
नर्मल सुत्केरी हुन नसकेर गम्भीर अप्रेसन गर्नुपर्ने गर्भवती महिलाले निकै दुःख व्यहोर्नुपरेको अस्पतालले जनाएको छ । सामान्य तथा जटिल बिरामीका लागि प्रयोगशालामा गरिने रगत, दिसा, पिसाब, खकार, हेमोग्लोबिन, रगत समूहलगायतका परीक्षण हुन नसक्दा बिरोमीको रोग निदानमा अप्ठ्यारो उत्पन्न भएको छ । जिल्ला अस्पतालमा मात्रै नभई विभिन्न स्वास्थ्य संस्थाका बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने महिलाले कठिनाइ भोग्दै आएको स्वास्थ्यकर्मीको भनाइ छ ।
अन्य सरकारी कार्यालयका कामकाजसमेत प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालयमा केही समयका लागि सोलार सिस्टम र जेनेरेटरबाट नागरिकता, राहादानीलगायतका सामान्य काम भइरहेको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले जानकारी गराए । छोटो समयका लागि काम चले पनि लामो समयसम्म बत्ती नहुँदा सबै सेवा प्रभावित हुन सक्ने उनको भनाइ छ । मालपोत, नापी, राजस्वका काम, बैंकिङ सेवाका कामकाज इन्टरनेट सेवा अवरुद्ध हुँदा प्रभावित बनेका छन् ।