☰ open Loading... 15 November 2024|  

एक्जिमका ऋण व्यवस्थाबारे दुईदिने प्रशिक्षण
  | १२ भाद्र २०७६, बिहीबार १६:३७

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावास तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७६ भदौ १० र ११ गते भारतीय निर्यात–आयात बैंक (एक्जिम)का ऋण व्यवस्था सम्बन्धी नीति निर्देशन तथा प्रक्रियाहरुबारे दुई दिने प्रशिक्षण कार्यक्रमकोे आयोजना गरेको छ । कार्यक्रममा नेपाल सरकारका २७ कर्मचारीहरुको सहभागिता थियो । भारतको एक्जिम बैंकका तीन वरिष्ठ विज्ञहरुले सो प्रशिक्षण कार्यक्रम सञ्चालन गरेका थिए । सन् २०१९ जुनमा भारतमा आयोजित ७ औं ऋण व्यवस्था (एलओसी) समीक्षा बैठकमा नेपाल तथा भारत सरकारबीच भएको द्विपक्षीय समझदारीको हिस्साको रुपमा सो कार्यक्रम आयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रमको पहिलो दिन परियोजना पहिचान, पूर्वयोग्यता तथा टेन्डर प्रक्रिया, टेन्डर दस्तावेजको मूल्याङ्कन, मनोनयन प्रक्रिया, परियोजना कार्यान्वयन एवम् अनुगमन लगायत एक्जिम बैंकको ऋण व्यवस्थाका रुपरेखाबारे सामान्य परिचय दिइएको थियो । प्रशिक्षण कार्यक्रमको दोस्रो दिनको सत्रमा नेपाल सरकारका कर्मचारीहरुले नेपालमा भारत सरकारको ऋण व्यवस्थाको सहयोगमा सञ्चालित परियोजनाहरुमा संलग्न भारतीय ठेकेदारहरुलाई आयात–निर्यात तथा घरेलु करसम्बन्धि जानकारी दिए । २८ भारतीय ठेकेदारहरुले यस प्रशिक्षणमा भाग लिए । भारत सरकारको ऋण सहयोगमा निर्मित परियोजनाहरुमा काम गरिरहेका नेपाल सरकारका कर्मचारीहरुकोे भविष्य निर्माण क्षमताको प्रयासमा सहयोग गर्न पनि दुवै पक्ष सहमत भएका थिए ।